काठमाडौँ, १२ वैशाख – कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण कहरबीच सङ्घीय संसद् सचिवालयले आसन्न बजेट अधिवेशनको तयारी थालेको छ । सचिवालयले कोरोना जोखिम न्यूनीकरणका उपायसमेत अवलम्बन गर्ने गरी बैठक सञ्चालन तथा व्यवस्थापन गर्ने तयारी गरेको हो ।
संविधान अनुसार जेठ १६ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्नेछ । आउँदो अधिवेशनमा अब सरकारका नीति तथा कार्यक्रम र बजेट पेसका लागि संयुक्त बैठक समेत बस्ने भएकाले उक्त व्यवस्थापनमा पनि सचिवालय जुटेको हो ।
सङ्घीय संसद् सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले आवश्यक सुरक्षात्मक उपायसहित बैठक सञ्चालनको तयारी र व्यवस्थापन भइरहेको बताउनुभयो । उहाँले कोरोना सङ्क्रमण जोखिमलाई समेत ध्यानमा राखेर हामीले भौतिक दूरी कायम हुनेगरी बैठक कक्ष व्यवस्थापन लगायतका काम अगाडि बढाइरहेका छौँ ।
बैठक कक्षलाई सुरक्षित बनाउन अन्य उपाय पनि अवलम्बन हुनेछन् । यो अधिवेशनमा संयुक्त बैठक समेत बस्ने भएकाले दुवै सदनका माननीयहरूलाई पर्याप्त स्थान हुनेगरी बैठक कक्ष व्यवस्थापनको काम भइरहेको छ भन्नुभयो । यो खबर आजको गोराखपत्र दैनिकमा छापिएको छ ।