सेनाले चीन र भारतबाट यी स्वास्थ्य सामग्री ल्याउदै, रकम समेत पठायो – Himalayan Dainik

सेनाले चीन र भारतबाट यी स्वास्थ्य सामग्री ल्याउदै, रकम समेत पठायो


सेनाले चीन र भारतबाट यी स्वास्थ्य सामग्री ल्याउदै, रकम समेत पठायो

काठमाडौं, १० वैशाख – नेपाली सेनाले कोरोनाविरुद्ध लडन चीन र भारतबाट ल्याउने स्वास्थ्य सामग्री र औषधिको टुंगो लागेको छ । चीनबाट २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ रुपैयाँको स्वास्थ्य सामग्री र औषधि ल्याउने भएको छ । यसैगरी दक्षिणी छिमेकी भारतबाट २ करोड ४० लाख रुपैयाँ बराबरको औषधि खरिद गर्न लागेको हो ।

चीनबाट ६७ थरीका सामग्री र भारतबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणको बेलामा आवश्यक पर्ने ५३ थरीका औषधि ल्याउन लागेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । उहाका अनुसार चीनसँग खरिद सम्झौता भईसकेको छ भने भारतसँग खरिदको लागि रक्षा मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्न लागेको छ । सेनाले चीनको सरकारी कम्पनी चाइना साइनो फर्म इन्टरनेशनल कर्पोरेसनसँग सो बराबरको सामान र औषधि ल्याउन लागेको छ ।

सेनाले सो कम्पनीसँग गरेको सम्झौताअनुसार अनुसार राष्ट्र बैंकमार्फत् एक करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर भुक्तानी गरेको छ । उक्त डलरको नेपाली रुपैयाँ करिब २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ हुन आउँछ । सम्झौता गरेको दुई दिनभित्र रकम भुक्तानी गर्नुपर्ने व्यवस्थाअनुसार सेनाले भुक्तानी गरिसकेको छ ।

सेनाका प्रवक्ता पाण्डेले चीनबाट ३ सय ४२ टन स्वास्थ्य सामग्री सरकार–सरकार (जिटुजी) प्रक्रियाबाट खरिद गरिएको बताउनु भयो । ६७ प्रकारका स्वास्थ्य सामग्री खरिदका लागि सोमबार नै चिनियाँ पक्षलाई रकम भुक्तानी गरिसकिएको छ । नेपालले भुक्तानी गरेको रकम पाइसकेको पनि चिनियाँ पक्षले जानकारी दिइसकेको छ । नेपाल र चीनबीच भएको सम्झौतामा रकम भुक्तानी गरेको एक साताभित्र सबै सामग्री चिनियाँ पक्षले ग्वान्जाओमा जम्मा गरिदिने उल्लेख छ । सोहीअनुरुप अबको एक साताभित्र चिनियाँ पक्षले ती स्वास्थ्य सामग्री ग्वान्जाओमा जम्मा गरिदिने जानकारी प्राप्त भएको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

ग्वान्जाओबाट तातोपानी नाकासम्म सामान ढुवानी गर्न करिब सात दिन लाग्ने जानकारी आएको उहाले बताउनु भयो । त्यस्तै भन्सार प्रक्रिया पूरा गर्न दुई दिने लाग्नेछ । अत्यावश्यक सामग्री हवाई मार्गबाट ल्याउने विषयमा हवाई सेवा प्रदायकसँग छलफल भइरहेको उहाले जानकारी दिनुभयो ।

व्यक्तिगत सुरक्षाका सामग्री (पिपिइ), मास्क, कोरोना परीक्षणका लागि आवश्यक कीटलगायत अत्यावश्यक सामग्री हवाई र अन्य सामग्री सडक मार्ग हुँदै ल्याउने तयारी गरिएको छ । नेपालमा कोेभिड–१९ संक्रमणको अवस्था सामान्य रहेमा अत्यावश्यक बाहेकका सामग्री सडक मार्ग हुँदै ल्याइने छ भने अवस्था जटिल बन्दै गएमा हवाई मार्गबाट पनि ल्याउने गरी तयारी अगाडि बढाइएको उहाले बताउनुभयो ।