एजेन्सी, बेलायत १० वैशाख – विश्वमा महामारीको रुपमा फैलिँदै गएको कोरोना भाईरसका कारण १ लाख ७७ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । भाइरस नियन्त्रणको तीन महिना कटिसक्दा पनि त्यसविरुद्धका औषधीहरु पत्ता लगाउने क्रम जारी नै रहेको छ । त्यसै शिलशिलामा बेलायतले पत्ता लगाएको भ्याक्सिनको परिक्षण मानिसमा गरिने तयारी गरिएको छ ।
बेलायतमा तयार गरिएको कोरोना भ्याक्सिनलाई मानिसमा परिक्षण गरिने बेलायती स्वास्थ्य सचिव मेट हेनकाकले बताए । उनले भोली बिहीबार बेलायतमा उक्त भ्याक्सिन मानिसमा परिक्षण गरिन लागेको जानकारी दिए ।
कोरोनाविरुद्धको भ्याक्सिनका लागि बेलायतले अहिलेसम्म अन्य मुलुकहरुले भन्दा धेरै लगानी गरेको पनि उक्त अवसरमा हेनकाकले बताए । बेलायतस्थित अक्फोर्ड कलेज र इम्पिरियल कलेजले भ्याक्सिन बनाउने कार्यमा तिब्रता दिएका छन् ।
हालसम्म बेलायतमा कोरोना भाइरसका कारण १ लाख २९ हजार ४४ जना संक्रमित भएका छन् भने १७ हजार ३ सय ३७ जनाको मृत्यु भइसकेको छ ।