नवलपुर,९ वैशाख – नवलपुरको पहाडी भेगमा चितुवा आंतक बढेको छ । पछिल्ला दिनहरुमा गाई बाख्राहरुलाई निशाना बनाउँदै चितुवाले मानिसलाई समेत आक्रमण गर्न थालेको छ । नवलपुरको पहाडी गाउँपालिका बौंदिकालीको वडा नं. ४ स्थित रुचाङमा सोमबारबिहान चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् ।
चितुवाको आक्रमणबाट रुचाङका ५५ बर्षीय नौलासिंह रकिम मगर घाइते भएको स्थानीयवासीले जनाएका छन् ।
नवलपुरको पहाडी क्षेत्रमा बढ्दो जंगलसँगै चितुवा पनि बढेको देखिएको छ । बेलाबखतमा बाख्रा, गाईलाई आक्रमण गरेको उक्त क्षेत्रमा मानिसलाई आक्रमण गरेको पहिलोपटक हो । चितुवा आक्रमणबाट घाइते भएका मगरको सामान्य उपचार स्थानीय स्वास्थ्य चौकीमा गरिएपछि थप उपचारका लागि भरतपुर लगिएको इलाका प्रहरी कार्यालय डेढगाउँका एक सुरक्षाकर्मीले बताए ।
चितुवाको आक्रमणबाट मगरको देव्रे हात, देव्रे खुट्टा र पेटमा चोट लागेको स्वास्थ्य चौकी रुचाङका स्वास्थ्यकर्मीले जनाएका छन् । चितुवाको आक्रमण गर्दागर्दै उनले हार गुहार गरेर कराएको सुनेर स्थानीयको प्रतिकारपछि मात्र उनी चितुवाबाट बाँच्न सफल भएका थिए । यसअघि उक्त चितुवाले एउटा गाई र एउटा गोरु पनि मारेको स्थानीयले जनाएका छन् ।