काठमाडौँ,५ वैशाख – नाइट क्लब लर्ड अफ द ड्रिंक्स् (एलओडी) ले कोभिड–१९ विरुद्ध सरकारको तयारीलाई मद्दत गर्न विभिन्न जिल्लामा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) र काठमाडौं महानगरपालिका वडा नं २६ का विपन्न सर्वसाधारणलाई खाद्यान्न सहयोग गरेको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत एलओडीले कञ्चनपुर जिल्लाका लागि ५० थान पीपीई सेट खानेपानी मन्त्री बिना मगरलाई र कैलाली जिल्लाका लागि ५० थान पीपीई सेट उद्योगमन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरेको छ ।
त्यसैगरी, एलओडीले काठमाडौं महानगरपालिका वडा २६ का सफाइ कर्मचारीका लागि सय थान पीपीई सेट हस्तान्तरण गरेको छ । साथै, एलओडीले ठमेल क्षेत्रका करिब पाँच सय जनालाई खाद्यान्न प्याकेज वितरण गरेको छ । यी प्याकेजमा ५ केजी चामल, १ केजी दाल, १ केजी गेडागुडी, १ केजी आलु, १ केजी नुन र एक लिटर तेल समावेश छ ।