घर जान हिडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न मुख्यमन्त्री पोखरेलको आग्रह – Himalayan Dainik

घर जान हिडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न मुख्यमन्त्री पोखरेलको आग्रह


घर जान हिडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न मुख्यमन्त्री पोखरेलको आग्रह

रुपन्देही, ५ बैशाख – प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लकडाउनको समयमा घर जान हिडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत लकडाउनका समयमा हिँडडुल गर्दा कोरोना सङ्क्रमणको जोखिम हुने भएकाले नजिकै रहेको क्वारेन्टाइनमा गएर बस्न अनुरोध गरेका हुन् ।

“घरजान भनेर प्रदेश नं. ५ भित्र आइपुग्नुभएका सबै प्रहरीको सहयोगमा नजिकै रहेको क्वारेन्टाइनमा गइदिनु होला, त्यहाँ खाने बस्ने व्यवस्था छ”, मुख्यमन्त्री पोखरेलले भनेका छन् ।

लकडाउनका कारण छाक टार्न समस्या भएपछि मुलुकका विभिन्न ठाउँमा रहेका नागरिकहरु पैदल हिँडेर आ–आफ्नो घरतर्फ जानेक्रम नरोकिएपछि उनले यस्तो अनुरोध गरे । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण निर्माण क्षेत्रका मजदूरहरु समस्यामा परेका छन् ।

काम नहुँदा हातमुख जोर्न समस्या भएपछि उनीहरु पैदल आ–आफ्नो घरतर्फ लागेका छन् । काठमाडौँलगायत विभिन्न ठाउँबाट हिँडेर दिनहुँ कैलाली, कञ्चनपुर, दाङ, बैतडी, सल्यान, रोल्पा, प्युठान जानेहरु रुपन्देहीका सडकमा देखिएका छन् ।

गत आइतबार रुपन्देही आएकाहरुलाई सैनामैना नगरपालिकाले बसको व्यवस्था गरेर घर पठाएको थियो ।