नवलपरासी, ३ बैशाख – विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको अग्रभागमा कामगर्ने सुरक्षाकर्मीलाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नवलपरासीले पर्सनल प्रोटेक्टिभ ईक्वीपमेन्ट (पीपीई) हस्तान्तरण गरेको छ ।
जिल्ला कमेटीले औषधी व्यवसायी महासंघबाट खरिद गरिएको गुणस्तरिय उक्त ४१ थान पीपीई जिल्ला प्रशासन कार्यालयलाई आज हस्तान्त्रण गर्दै सिमा खटिएका सुरक्षाकर्मीहरुलाई उपलब्ध गराएको हो । कोरोनाको रोकथाम तथा नियन्त्रणमा अग्रभागमा मात्र नभई नेपाल भारत सीमा क्षेत्रका सुरक्षाकर्मी आफै असुरक्षीत भएकाले त्यसलाई विशेष ध्यान दिई राष्ट्रिय युवा संघ जिल्ला कमेटी नवलपरासीले ति सुरक्षाकर्मीहरुलाई ४१ थान पीपीई उपलब्ध गराएको संघका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा परिषद् नवलपरासीका अध्यक्ष रमेश पौडेलले जानकारी दिनुभएको छ ।
भारतमा कोरोना संक्रमण तिब्र रुपले फैलिरहेको बेला नवलपरासी खुल्ला सिमाना भएका कारण यो जिल्ला पनि उच्च जोखिममा रहेको उल्लेख गर्दै देशमा लकडाउन र सिमा बन्द भएपनि भारतबाट लुकिछिपी नेपाली छिर्न खोज्ने व्यक्तिहरुलाई पक्राउ गर्न र यस्तो लकडाउनका बेला सिमा क्षेत्रमा क्रोना संक्रमणका लक्षण देखिने व्यक्तिहरुको तत्काल उद्दारका तिनै प्रहरी खटिनु पर्ने भएकाले ति सुरक्षाकर्मीहरु उच्च पनि जोखिममा रहेको भन्दै संघले उक्त पिपिई उपलब्ध गराएको सदस्य पौडेलले जानकारी दिनुभयो ।