चार महिनाअघि नै नेपाल आएका थिए भारतीय संक्रमित – Himalayan Dainik

चार महिनाअघि नै नेपाल आएका थिए भारतीय संक्रमित


चार महिनाअघि नै नेपाल आएका थिए भारतीय संक्रमित

काठमाडौँ, ३ वैशाख – वीरगन्जमा संक्रमित भेटिएका तीनजना भारतीय मुस्लिम धर्म प्रचारक (जमाती) ४ महिना अगाडि नै १४ जनाको समूहमा नेपाल प्रवेश गरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय(जिप्रका) पर्साका अनुसार ३ जना संक्रमित भेटिएको उक्त टोली गत पुस २ मा विराटनगर नाकाबाट नेपाल प्रवेश गरेको थियो । उनीहरु पुस १ मा दिल्लीबाट ट्रेनमा प्रस्थान गरेका थिए । सुरक्षाकर्मी र प्रशासनका अधिकारीले गरेको अनुसन्धानपछि जिप्रका पर्साले मंगलबार साँझ सार्वजनिक गरेको ट्राभल हिस्ट्री (यात्रा विवरण) का अनुसार उक्त १४ जनाको टोली पूर्वी नेपालको विभिन्न जिल्ला घुम्दै फागुन ८ मा मात्र वीरगन्ज आएको थियो ।

यसअघि उक्त जमाती टोली पुस ४ देखि १० दिनसम्म सुनसरी दुहबीको जामे मस्जिदमा बसेको थियो । पुस १६ देखि फागुन १ गतेसम्म सुनसरीकै इनर्वास्थित तीन/चारवटा मस्जिदमा उनीहरु बसेका थिए । सप्तरीमा आयोजना भएको मुस्लिमहरुको धार्मिक सम्मेलन इस्तिमामा सहभागी हुन उनीहरु इनर्वाबाट फागुन २ मा पुगेका थिए । मुस्लिमहरुको धार्मिक भेला सम्पन्न भएपछि उनीहरु फागुन ८ मा वीरगन्जको सुगौली आएका थिए । ‘सुगौलीको मस्जिदमा बसेको बेला फागुन १४ गते अहिले संक्रमित भेटिएका एक व्यक्ति १४ जनाको समूहमध्ये एक जना जमातीलाई लिएर सीमावर्ती भारतीय बजार रक्सौल गएका थिए,’ जमाती व्यवस्थापन समितिका एक सदस्यलाई उद्धृत गर्दै सहायक प्रजिअ बस्नेतले भने, ‘उनीहरु रक्सौल गएर एटीएमबाट पैसा झिकेका रहेछन् ।’ याे खबर कान्तिपुर दैनिकमा छ ।