काठमाडौँ, ३ वैशाख । सरकारको निर्देशनअनुसार आवश्यक परेको बेलामा उडान भर्न निजी हेलिकोप्टर सहमत भएका छन् ।
कोरोना समन्वय समितिले स्वाब परीक्षण, मेडिकल सामग्री, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी लिएर आवश्यक परेको समयमा उडान भर्न निजी वायुसेवा सञ्चालक संघलाई निर्देशन दिएको थियो ।
समितिको निर्देशन बमोजिम पर्यटन मन्त्रालयले संघसँग छलफल गरेको र संघ सहयोग गर्न राजी भएको मन्त्रालयका सहसचिव बुद्घिसागर लामिछानेले जानकारी दिए । अहिलेसम्म परिस्थिति नियन्त्रणमा रहेको भए पनि भविष्यमा कोरोना संक्रमण बढ्न गयो भने आवश्यक मेडिकल उडान भर्नका लागि निजी वायुसेवा कम्पनीलाई सरकारले निर्देशन दिएको हो । ‘आज वा भोलिका लागि यो निर्णय भएको होइन ।
आवश्यक परेको बेलामा खडा रहन भनिएको हो। भोलिका दिनमा उक्त उडान आवश्यक नपर्न पनि सक्छ वा आवश्यक पर्न पनि सक्छन्’, लामिछाने भन्छन् । उपलब्ध सबै संयन्त्रलाई सुसूचित रहन आग्रह मात्रै गरिएको उनको भनाइ छ । यता, वायुसेवा सञ्चालक संघले पनि सरकारको निर्देशन बमोजिम हेलिकप्टरहरूले उडान भर्न सक्ने भन्दै समितिलाई पत्राचार गरिसकेको प्रवक्ता योगराज कँडेल शर्माले बताए ।
संघले १० वटा नै हेलिकप्टरलाई क्रम संख्याको आधारमा उडान भर्न सक्ने गरी समितिलाई पत्र पठाएको छ । जतिखेर इमर्जेन्सी हुन्छ र सरकारले उडानका लागि निर्देशन दिन्छ हेलिकप्टर उडान तयारी अवस्थामा रहेको शर्माले जानकारी दिए ।
समितिको निर्देशनसँगै नेपाल उड्डयन प्राधिकरणले पनि सरकारलाई सहयोग गर्न निजी विमान कम्पनीलाई पत्राचार गरेको थियो। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।