राष्ट्रपति भण्डारीद्वारा नयाँ वर्षको शुभकामना – Himalayan Dainik

राष्ट्रपति भण्डारीद्वारा नयाँ वर्षको शुभकामना


राष्ट्रपति भण्डारीद्वारा नयाँ वर्षको शुभकामना

काठमाडौँ, १ बैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७७ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वांगीण विकास र प्रगतिको कामना व्यक्त गर्नुभएको छ ।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी–दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले कोरोनाभाइरस सिर्जित यस विपदमा साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले उच्च मनोबल र सकारात्मक सोचका साथ महामारीको रोकथाम एवम् नियन्त्रणका लागि सम्पूर्ण नेपालीलाई पुनः एकजुट भई अगाडि बढ्न नयाँ वर्षले ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

कोरोनाभाइरसको रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन अहिलेको सबैभन्दा उत्तम विकल्प ‘लकडाउन’र सामाजिक दूरी कायम गर्नुपर्ने देखिएको जनाउँदै उनले अब अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभाव कम गर्नका लागि जैविक विविधता सदुपयोग गर्दै दिगो विकास हासिल गर्न अग्रसर हुनु पर्ने खाँचो औल्याउनु भएको छ ।

‘लकडाउन’का कारण यसपटक नयाँ वर्ष मनाउने र हर्षोल्लास आदानप्रदान गर्ने कार्यमा सावधानी अपनाउन ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले नयाँ वर्षले राष्ट्रमा दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।