टेलिकमका २० हजार नयाँ सीम लिनेको खोजी कार्य जारी – Himalayan Dainik

टेलिकमका २० हजार नयाँ सीम लिनेको खोजी कार्य जारी


टेलिकमका २० हजार नयाँ सीम लिनेको खोजी कार्य जारी

काठमाडौँ, ३० चैत – लकडाउनपछि टेलिकमका २० हजार नयाँ सीम लिनेहरुको खोजी कार्य जारी रहेको छ । सम्भावित बिरामीको पहिचान गर्न यही चैत २६ गतेदेखि कल सेन्टर स्थापना गरिएको छ ।

छाउनीस्थित नेपाली सेनाको रेञ्जर गणमा रहेको क्राइसिस म्यानजेमेन्ट सेन्टरमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपाल टेलिकमले उपलब्ध गराएको २० हजार नयाँ सीम पहिचान गरी उनीहरुलाई सम्पर्क गरिएको र पहिचान गर्ने काम भइरहेको बताइएको छ ।

हालसम्म एक हजार ७५६ जनलाई कल सेन्टरले सम्पर्क गरेको छ । हालसम्म सम्पर्कमा आएका सम्भावित कोभिड–१९ सक्रमणका लक्षण भएका व्यक्तिलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिइएको छ ।

कलसेन्टरसमेत नेपाली सेनाको छाउनीमा स्थापना गरिएको छ । सम्पर्क गरिएका व्यक्ति स्वास्थ्य संस्थामा गए नगएको समेत अनुगमन गरिएको छ । यस्तै विभिन्न स्रोतबाट तथ्यांक संकलन गरी जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यक कारवाहीको लागि सिसिएमसीअन्तर्गत अन्य कार्य समूहलाई उपलब्ध गराइएको छ । यस्तै कोभिड–१९ मोबाइल एप्समार्फत पनि एकीकृतरुपमा सूचना संकलन भइरहेको छ ।

प्रदेश, जिल्ला र स्थानीय तहलाई पिपिईको प्रयोगसम्बन्धी कार्यविधि, क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका, बिरामी ल्याउने कार्यविधि, कोभिड–१९ का बिरामी ल्याउने एम्बुलेन्स तथा शव बाहन सम्बन्त्री कार्यविधि, एम्बुलेन्स प्रयोग गरेर ल्याउने बिरामीको अवस्थासम्बन्धी कार्यविधि , फिबर क्लिनिक, द्रूत नमूना परीक्षणसम्बन्धी कार्यविधिसमेत तयार गरी लागू गरिएको छ ।