बागलुङमा ५०३ जनामा गरियो र्‍यापिड डाइग्नोस्टिक टेस्ट, रिर्पोट भने नेगेटिभ – Himalayan Dainik

बागलुङमा ५०३ जनामा गरियो र्‍यापिड डाइग्नोस्टिक टेस्ट, रिर्पोट भने नेगेटिभ


बागलुङमा ५०३ जनामा गरियो र्‍यापिड डाइग्नोस्टिक टेस्ट, रिर्पोट भने नेगेटिभ

 बागलुङ, ३० चैत – जिल्लाका ५ सय ३ शङ्कास्पद व्यक्तिमा कोभिड–१९ को दु्रत जाँच -यापिड डाइग्नोस्टिक टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।

बिहीबारदेखि कोभिड–१९ को जोखिमयुक्त जिल्लामा परेको बागलुङमा दु्रत जाँच शुरु गरिएको थियो । बिहीबार १२, शुक्रबार ९४ र शनिबार ३ सय ९७ जनामा कोरोना जाँच गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख सुरज गुरौका अनुसार हालसम्म गरिएका सबै जाँचको रिपोर्ट नेगेटिभ छ । शनिबार बागलुङ नगरपालिकाका ७७, बडिगाड गाउँपालिकाका १ सय १४, निसीखोला गाउँपालिकाका ११५ र ढोरपाटन नगरपालिकाका ७७ जनामा कोरोना जाँच गरिएको थियो । जाँच गरिएका सबै विदेशबाट आएका व्यक्ति हुन् ।

स्वास्थ्य मन्त्रालयले तोकेबमोजिम सङ्क्रमित व्यक्तिको बसोबास क्षेत्र, भौतिक सम्पर्क भएका व्यक्ति र विदेशबाट आएका सबैमा कोरोनाको दु्रत जाँच हुनेछ ।

सोमबारसम्ममा जिल्लाका १० स्थानीय तहका गरी कूल ९७१ शङ्कास्पद व्यक्तिमा कोरोना जाँच गरिने प्रमुख गुरौले जानकारी दिए । “हामीले तयारी गरेभन्दा जाँचको सङ्ख्या केही थप हुनसक्ने देखिएको छ”, उनले भने, “जाँच गरिएका कूल सङ्ख्यामध्ये १० प्रतिशतको स्वाबसमेत सङ्कलन गरी कोरोना परीक्षण गरिनेछ ।”

बागलुङ नगरपालिकामा कूल १ सय ९२, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिकामा ७८, बरेङ गाउँपालिकामा ५६, जैमिनी नगरपालिकामा ८६, निसीखोला गाउँपालिकामा १सय ३, काठेखोला गाउँपालिकामा ५६, बडिगाड गाउँपालिकामा १सय ६१, गलकोट नगरपालिकामा १ सय २८ र ताराखोला गाउँपालिकामा ३३ जनामा कोरोनाको दु्रत जाँच हुनेछ ।

“¥यापिड टेस्टका लागि जिल्लाभर स्वास्थ्यकर्मीको चार टोली परिचालित छ”, प्रमुख गुरौले भने , “स्थानीय तहसँगको समन्वयमा जाँचको काम भइरहेको छ ।” स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बोलाएर शङ्कास्पद व्यक्तिमा कोरोना जाँच्ने गरिएको छ ।

किटको प्रयोग गरेर गरिने दु्रत जाँच -यापिड टेस्ट को रिपोर्ट १५ मिनेटमै आउने गरेको छ । पोजेटिभ रिपोर्ट आएमा पुनः स्वाबसमेत सङ्कलन गरेर थप पुष्टिका लागि पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाइनेछ ।

यसअघि स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले बिहीबार बागलुङका स्वास्थ्य प्राविधिकलाई दु्रत जाँचसम्बन्धी प्रयोगात्मक अभिमुखीकरण प्रदान गरेको थियो ।

सरकारले दुई सङ्क्रमित भेटिएसँगै बागलुङलाई कोभिड–१९ को जोखिमयुक्त जिल्ला किटान गरी दु्रत जाँच गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसबाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया युवती र वडा नं ३ की ६५ वर्षीया महिला अहिले धवलागिरि अञ्चल अस्पतालमा उपचाररत छन् ।

दुवैको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । युवतीमा यही चैत १५ गते र महिलामा २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । दुवै बेल्जियमबाट दोहा हुँदै कतार एयरको विमानबाट चैत ४ गते नेपाल आएका थिए ।

यसैबीच, ६५ वर्षीया महिलामा गरिएको कोरोनाको दोस्रो परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

यसअघि १९ वर्षीया युवतीमा गरिएको दोस्रो परीक्षणमा पनि पोजेटिभ रिपोर्ट आएको थियो । लगातार दुईपटक कोरानाको नेगेटिभ रिपोर्ट आएपछि मात्र बिरामीलाई अस्पतालबाट घर पठाइने चिकित्सकले बताएका छन्