ओली र प्रचण्डको सम्बन्ध चिसियो – Himalayan Dainik

ओली र प्रचण्डको सम्बन्ध चिसियो


ओली र प्रचण्डको सम्बन्ध चिसियो

काठमाडौँ, ३० चैत – गृह स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले डीआईजी बढुवा सूची मागे ।

सूचीमा राष्ट्रिय सुरक्षा परिषद्मा रहेका एसएसपी गणेश ऐरको नाम नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा गृहमन्त्री थापाले राख्न लगाएका थिए । दाहालले ऐरलाई पहिलो नम्बरमै राख्न भनेकामा थापाले पाँचौं नम्बरमा पारेका थिए ।

२४ चैतको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंक गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्ति गर्ने निर्णय गर्‍यो । दाहाल मीनबहादुर श्रेष्ठलाई गभर्नर बनाउन चाहन्थे । तर, प्रधानमन्त्रीले यो विषयमा उनीसँग कुनै छलफल नै चलाएनन् ।

चैत २ गते सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कार्यवाहक महासचिवमा गोपालनाथ योगीलाई जिम्मेवारी तोके । महासचिव मनोहरप्रसाद भट्टराईको ५ वर्षे कार्यकाल सकिएपछि योगीलाई कार्यवाहक तोकिएको हो । योगीलाई कार्यवाहक तोक्ने क्रममा पनि दुई अध्यक्षको मतैक्य भएन ।

यी र यस्तै प्रकरणले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच दूरी बढेको छ। गत ४ मंसिरमा ओली र दाहालबीच कार्य्विभाजन भएयता सम्बधमा चिसिएको छ । अझ गत २३ पुसमा उपाध्यक्ष वामदेव गौतमको निवासमा दाहालसहितका ओलीइतर बहुमत सचिवालय सदस्यहरूको भेलापछि त अध्यक्षद्वयबीच चिसिएको सम्बन्धमा सुधार हुनै सकेको छैन ।

ओली पूर्वएमाले समूहभित्र खेलेर आफूलाई घेराबन्दीमा पार्न खोजेको भन्दै दाहालसँग असन्तुष्ट छन् । ओलीले सरकार सञ्चालन एकलौटी गरेको र पार्टीमा पनि आफूलाई काम गर्न असहज पार्न मात्र खोजेको दाहालको आरोप छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।