लकडाउनले प्रभाव पारेन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम – Himalayan Dainik

लकडाउनले प्रभाव पारेन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम


लकडाउनले प्रभाव पारेन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम

काठमाडौँ, २९ चैत – कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी महामारी रोक्नका लागि नेपालमा लकडाउन गरिए पनि राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम भने निरन्तर भइरहेको छ ।

लकडाउनका कारण विमानस्थल निर्माणका लागि आवश्यक सामग्री रोकिए पनि मौज्दात रहेका सामग्रीको प्रयोग गरेर विमानस्थल निर्माणको काम निरन्तर भइरहेको हो ।

चिनियाँ कम्पनी सीएमसीले निर्माणको जिम्मा पाएको विमानस्थलमा कार्यरत कर्मचारीहरूको स्वास्थ्यमा विशेष ख्याल गर्दै निर्माणको कामलाई निरन्तरता दिइरहेको विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभयो ।

सरकारले लकडाउनको घोषणापछि १६० जना नेपाली कामदारलाई घर पठाइए पनि २७१ चिनियाँ र १०० जना नेपाली कामदारलाई विमानस्थलभित्रै लकडाउन गरेर निर्माणको कामलाई निरन्तरता दिइएको मुनकर्मीले बताए ।

अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्ने १६० सिट क्षमताका ‘फोरडी’ विमान अवतरण गर्नसक्ने गरी निर्माण गरिएको विमानस्थलको रनवे, ट्याक्सीवे, एप्रोन, इमिग्रेसन क्यानल, माटो काट्ने, फिलिङ गर्ने, दायाँ बायाँ मैदान बनाउने, १४ वटा बिल्डिङको स्ट्रक्चर निर्माण गरी ५६ प्रतिशत काम सकिएको र अन्य डेकोरेसनको काम बाँकी रहेको छ ।

विमानस्थलमा कार्यरत कामदार चाड मनाउनका चीन गएकै बेला कोरोना भाइरसको सङ्क्रमण देखिएपछि केही समय फिर्ता हुन नपाएका कामदार चीनमै १४ दिन क्वारेन्टाइनमा राखेर स्वस्थ रहेको प्रमाणपत्रका आधारमा काममा खटाइएको थियो । सरकारले घोषणा गरेको लकडाउनका कारण विमानस्थलबाहिर गर्नुपर्ने काम नभए पनि भित्र गर्नुपर्ने काम भइरहेको मुनकर्मीको भनाइ छ ।

‘हामीले लकडाउनभित्र पनि कडा लकडाउन गरेर काम गरिरहेका छौँ, विमानस्थलको वरिपरि तारबार लगाइएको, गेटबाट अत्यावश्यक सामग्रीबाहेक अरू भित्रिन नपाउने भित्र बाहिर गरिरहनुपर्ने १६० कामदारलाई घर पठाएर भित्र मात्र काम गर्ने ३७१ कामदारलाई नियमित काममा खटाउनुका साथै नियमित स्वास्थ्य चेकजाँचको समेत व्यवस्था गरेका छौँ, मुनकर्मीले भने ।

विमानस्थलमा धेरै प्रकारका कामदारले काम गर्नुपर्ने भए पनि लकडाउनका कारण प्राविधिक कर्मचारी चीनमै रोकिएकाले निर्माण स्थलमा रहेका कामदारले गर्नुपर्ने काम सक्नेगरी काम भइरहेको छ ।

तोकिएको समयभन्दा छ महिनाअगावै निर्माण सक्ने योजनासहित काम भइरहेको भए पनि कोरोना भाइरसका कारण त्यो योजनामा धक्का लागेको मुनकर्मीले बताए ।

अहिले हामीलाई केही धक्का लागेको छ, कामदार चीनमै रोकिएका छन्, डेकोरेसन तथा अन्य उपकरण भारतको कलकत्ता बन्दरगाहमा रोकिएका छन्, प्रमुख ढलानका लागि प्रयोग गरिने सिमेन्ट भारतबाट ल्याउन नसके पनि भित्र रहेको जनशक्ति र स्टोर गरेर राखिएको सामग्रीको प्रयोगबाट हुने सबै काम निरन्तर गराएका छौँ, यसले केही समस्या भए पनि तोकिएको समयभित्रै काम सम्पन्न गर्न सक्छौँ, मुनकर्मीले भने ।