एजेन्सी, २४ चैत – नोभेल कोरोना भाइरसको संक्रमणबा विश्वभर बढी प्रभावित भएका युरोपियन मुलुक स्पेन र इटालीमा पछिल्ला केही दिनयता दैनिक हुने कोरोना संक्रमित र मृत्यु हुने संख्यामा कमी आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कोरोना भाइरस सल्लाहाकार डेबोराह ब्रिक्सले इटाली र स्पेनको संक्रमणदरमा आएको कमीले अमेरिकालाई आशा प्रदान गरेको बताएकी छन् ।
अमेरिकाको कोरोना भाइरस इपिसेन्टर बनेको न्युयोर्कमा आइतबार भने कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा कमी आएको हो । “हामी आगामी सातासम्म कोरोना संक्रमणमा स्थिरता हात पार्नेछौं भन्नेप्रति आशावादी छौं । केही साताअघि सुरु भएको कोरोना संक्रमणको दरमा आगामी साता कमी आउने छ,” डेबोराले भनिन् ।
अमेरिकामा हालसम्म तीन लाख ३७ हजार २७४ कोरोना संक्रमित छन् भने ९ हजार ६१९ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ । विश्वभर कोरोना संक्रमितको संख्यामध्ये अमेरिकामा धेरै छ ।
आइतबार इटालीमा कोरोना संक्रमणबाट ५२५ जनाको मृत्यु भएको थियो । जुन १९ मार्च यताकै दैनिक मृत्यु हुनेको संख्यामध्येकै कम हो । त्यसैगरी स्पेनमा पनि यस साताकै कम ६७४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको थियो ।