भक्तपुर,२४ चैत – भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रको क्वारेन्टाइनबाट आज ७३ जनालाई घर पठाइएको छ ।
विभिन्न मुलुकवाट दुई हप्ता अघि नेपाल फर्किएका उनीहरुको स्वाब परिक्षणमा कोरोना भाइरसको रिपोट नेगेटिभ आएपछि आज घर पठाइएको हो ।
नेपाल सरकारले विदेशी विमानहरुलाई नेपाल आउन प्रतिबन्ध लगाए पनि अटेर गरी उनीहरु चैत ८ र ९ गते थाई एयरवेज, एयर इन्डिया, सिल्क एयर लगायतका विमानहरुबाट ७३ जना तथा चैत १२ गते भारतबाट स्थल मार्गबाट आएका २३ जना गरी कूल ९६ जनालाई प्राधिकरणको तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएको थियो ।
९६ जनाको स्वाब परीक्षणका लागि शुक्रबार टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा लगिएको थियो भने रिपोट चाहिँ ९४ जनाको आइतबार आएको थियो । बाँकी दुई जनाको पुनः स्वाब परीक्षणका लागि प्रयोगशालले आज लिन आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानले जानकारी दिए । गत शुक्रबार लगिएको ९६ जनामध्ये दुई जनाको स्वाब नपुगेपछि आज पुनः परिक्षणका लागि लगिएको उनले बताए ।
उनीहरुलाई तीन वटा भवनमा छुट्टाछुट्टै राखिएका थियो । घर जान बाँकी २३ जनालाई भने दुई जनाको रिपोट आएपछि मात्र पठाइने छ ।
आज पठाइएकाहरुमध्ये सरकारले उपत्यकाबाहेक अन्य ठाउँका लागि चार वटा रुट बनाएर उनीहरुलाई घरसम्म पु¥याउन बसको व्यवस्था गरेको छ । बसको शुल्क भने स्वयम् आफैले तिर्नुपर्ने जनाइएको छ । उपत्यकाभित्रका लागि नेपाली सेनाको बस तथा उपत्यकाबाहिरका लागि काठमाडौं–झापा, काठमाडौं–पोखरा र काठमाडौं–नेपालगञ्जका लागि रिर्जभ बसको व्यवस्था गरेको हो भने भक्तपुरदेखि बनेपा–पाँचखालसममका लागि ट्याक्सीको व्यवस्था गरेको प्रहरलिे जनाएको छ ।