काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा एकनारायण अर्याल बहाली – Himalayan Dainik

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा एकनारायण अर्याल बहाली


काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा एकनारायण अर्याल बहाली

काठमाडौं,२४ चैत – काठमाडौं महानगरपालिकाको राजपत्राङ्कित बिशिष्ट श्रेणीको प्रमुख प्रकासकीय अधिकृत पदमा एकनारायण अर्यालले आज बहाली गर्नुभएको छ ।

नेपाल सरकार, मन्त्री परिषद्को फागुन १८ गते बसेको बैठकले उहाँलाई प्रशासन सेवातर्फ राजपत्राङ्कित बिशिष्ट श्रेणीमा बढुवा गरेर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापन गर्ने निर्णय गरेको थियो । यस अघि उहाँ नेपाली महाबाणिज्य दूताबास कोलकत्तामा महावाणिज्यदूत हुनुहुन्थ्यो ।

२०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामति सेवामा प्रवेश गर्नुभएको अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा हुनुभएको हो । २०७२ सालको महाभूकम्पका समयमा उहाँ काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो ।

पदबहाली गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले भन्नुभयो — चुस्त सेवा र भ्रष्टाचार शुन्य सहनशीलता मेरा प्रमुख बाटा हुन् । जनताका आवश्यकता र जनप्रतिनिधिका योजनालाई सूचना प्रबिधिको माध्यमबाट व्यवस्थित गराउन चाहन्छु यसका लागि मैले मेरो टिमबाट सकारात्मक पृष्ठपोषणको अपेक्षा गरेको छु । उहाँले  भन्नुभयो — २०७२ सालको भूकम्पबाट सृजना भएको बिपत्तिलाई मैले काठमाडौंमा बसेर व्यवस्थापन गरेको छु । अहिलेको बिपत्तिको प्रकृति फरक छ । तर, समन्वय र कार्यकुशलताले यसलाई सजिलै व्यवस्थापन गर्नुपर्छ । म यहाँका १८ सय बढी कर्मचारीको नेतृत्व गर्न सक्छु ।

तपाईहरुले जनप्रतिनिधि र जनताले अपेक्षा गरेको परिणाम ल्याउन सहयोग गर्नोस् । जनतालाई आपत परेको बेला हामी सबैको घरमा पुगेको अनुभूति हुनुपर्छ । काठमाडौंले अरुलाई सिकाउनु पर्छ । यसका लागि सबै मिलेर कुशल नेतृत्व क्षमता बढाऔं, प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाइ थियो ।
त्यस क्रममा महानगरका सहसचिव राजेश्वर ज्ञवालीले — काठमाडौं महानगरमा दक्ष कर्मचारी भएकोले नेतृत्वलाई लक्ष्य हासील गर्न सहज वातावरण भएको उल्लेख गर्नुभयो । परेको बेला खट्न सक्ने र लक्ष्य पहिल्याउन सक्ने कर्मचारी महानगरको क्षमता हो, सहसचिव ज्ञवालीले बताउनुभयो ।

काठमाडौं महानगरमा १८ सय बढी कर्मचारी हुनुहुन्छ । ५९ जना निजामती सेवाबाट समायोजन भएर आउनुभएको छ । समायोजनबाट स्थानीय सेवामा काम गर्नेलाई उति उत्साह छैन । महानगरको वर्तमान अवस्था र क्षमताका विषयमा जानकारी दिँदै प्रशासन बिभागका प्रमुख नमराज ढकालले भन्नुभयो — अहिले महानगरको मुख्य काम भनेको कोभिड संक्रमण रोकथाम र नियन्त्रण नै हो । वडाबाट अहिले राहत वितरणको काम भइरहेको छ । ढकालले जानकारी दिँदै भन्नुभयो — राहतका लागि कार्यपालिकाले मापदण्ड स्वीकृत गरेको छ ।

राहत लिनका लागि २२ हजार ७०० जनाले विवरण बुझाउनुभएको छ । यीमध्ये करीब १० हजार ५ सय जनालाई राहत दिइसकिएको अवस्था छ । विदेशबाट आएर काठमाडौमा रहनुभएका ११७ जनाको विवरण हामीले स्वास्थ्य मन्त्रालयमा पठाइसकेका छौं । उहाँहरुमा प्रारम्भिक समस्या देखिएको छैन । उहाँले स्पष्ट पार्दै जानकारी गराउनुभयो । त्यस क्रममा उहाँले केन्द्रीय र वडा स्तरीय स्वास्थ्य सहायता कक्ष, माक्स, स्यानिटाइजर वितरण, सडक र कार्यालयलाई निस्संक्रमण बनाउन गरिएको प्रयासका बारे पनि अवगत गराउनुभयो । उहाँको पदबहालीका क्रममा बिभागीय प्रमुखहरु उपस्थित हुनुहुन्थ्यो । ं