तुलसीपुर उपमहानगरपालिकाद्वारा विपन्‍नलाई राहत वितरण – Himalayan Dainik

तुलसीपुर उपमहानगरपालिकाद्वारा विपन्‍नलाई राहत वितरण


तुलसीपुर उपमहानगरपालिकाद्वारा विपन्‍नलाई राहत वितरण

दाङ ,२१ चैत – तुलसीपुर उपमहानगरपालिकाभित्रका विपन्‍नलाई राहत बाँडिएको छ । कोरोना संक्रमणका कारण सरकारले लकडाउन घोषणा गरेपछि ज्याला मजदुरी गर्नेको छाक टुटेको भन्दै उपमहानगरपालिकाले राहत बाँडेको हो ।

उपमहानगरपालिकाभित्र रहेका १९ वटै वडामा राहत वितरण कार्य सुरु भएको बताइएको छ ।  यसअघि पनि विभिन्‍न वडाले आफ्नै पहलमा राहत वितरण गरेका थिए । टोल विकास संस्था हुँदै वडाबाट सिफारिस भएका विपन्‍नलाई लक्षित गरी उपमहानगरपालिकाले राहत वितरण गरेको हो ।

‘‘जनतालाई भोकै राख्दैनौं, सरकारले जसरी पनि पुर्‍याउँछ,’’ उपमहानगर प्रमुख घनश्याम पाण्डेले भने । उनले राहत वितरण गर्दै कसैले पनि अनुचित तवरले राहत लिन नहुने सुझाए ।

उपमहानगरले बाँडेको राहतमा प्रतिपरिवार ३० किलो चामल, १ लिटर तेल, १ किलो नुन, २ किलो दाल र २ साबुन वितरण गरिएको विपत् व्यवस्थापन शाखा प्रमुख भीमप्रकाश खत्रीले जानकारी दिए । उनले वडा १ बाट १ सय ६२, २ बाट ७०, १० बाट ३१ र १३ बाट २ सय ३८ जनाका लागि राहत हस्तान्तरण गरिएको जानकारी दिए । टोल विकास संस्थाको सिफारिसमा वडा कार्यालयमा बस्‍ने सर्वदलीय बैठकले राहत पाउनेको नाम सिफारिस गरेको हो ।

‘‘एकैपटक वडामा भीड गर्दा संक्रमणको समस्या हुने हुँदा समूह बनाएर वितरण गर्ने योजना छ,’’ वडा १ का अध्यक्ष लक्ष्मण भण्डारीले बताए । वडा २ का अध्यक्ष राजु आचार्यले धेरैको नाम आए पनि त्यसलाई छानबिन गरेको बताए । अर्का वडाध्यक्ष कुमार लामिछानेले घरमा चुलो बल्न बन्द भएकालाई पहिलो प्राथमिकतामा राखेर राहत वितरण गरिएको बताए ।