काठमाडौं ,२० चैत – अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीबी) ले सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल यथावत रहेको छ । बिहीबार सार्वजनिक गरेको विश्व वरियतामा नेपाली महिला भलिबल टोली ८६ औं स्थानमा यथावत रहेको हो ।
त्यस्तै एसियाली राष्ट्रको वरियतामा भने १७ औं स्थानमा रहेको छ । महिलाको विश्व वरियताको शीर्ष स्थानमा चीन रहँदा दोस्रोमा अमेरिका, तेस्रोमा ब्राजिल, चौथोमा इटाली र पाँचौ स्थानमा टर्की रहेको छ ।१३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि नेपाली महिला भलिबल टोलीले घरेलु भूमिमा सम्पन्न कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन ।
पुरुषतर्फ भने नेपाल शीर्ष १०० भित्र नअटाउँदा १ सय ३६ औं स्थानमा रहेको छ । पुरुषको वरियतामा ब्राजिल शीर्ष स्थानमा छ । पोल्यान्ड दोस्रो, अमेरिका तेस्रो, रुस चौथो र अर्जेन्टिना पाँचौ स्थानमा छन् एसियाको वरियतामा नेपाली पुरुष टिम २७ औं स्थानमा रहेको छ ।