काठमाडौँ, १८ चैत – पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।
आज पूर्वराजा शाहले एक सन्देश जारी गर्दै हिमानी कोषमार्फत् दुई करोड योगदान गर्ने घोषणा गरेका हुन् । जारी सन्देशमा भनिएको छ, ‘आपत-विपद्को घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषलाई दुई करोड रुपैयाँ दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौं ।’
राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सबै पक्षबाट भइरहेको कामको प्रशंसा गर्दै उनले यसलाई अझै प्रभावकारी बनाउन अपिल समेत गरेका छन् ।