प्रधानमन्त्री ओलीद्वारा स्वास्थ्य उपकरण खरिद प्रकरणमा चासो – Himalayan Dainik

प्रधानमन्त्री ओलीद्वारा स्वास्थ्य उपकरण खरिद प्रकरणमा चासो


प्रधानमन्त्री ओलीद्वारा स्वास्थ्य उपकरण खरिद प्रकरणमा  चासो

काठमाडौँ, १८ चैत – प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य उपकरण खरिद प्रकरणमा अनियमितता भएको प्रश्न उठेपछि चासो देखाएका छन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘खरिद प्रकरणमा देखिएको विवाद के हो ? संकटका बेला किन यस्ता विषय विवादमा आए ? काम गर्ने तौरतरिका कहाँ मिलेन वा भएको के हो ? ’

आफूलाई पूर्ण जानकारी नगराई सुरु गरिएको खरिद प्रकरणमा अनियमतिताको प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा त्यसबारे प्रश्न गरेको एक मन्त्रीले बताए । कोरोनासँग जुध्न उपकरण खरिद आवश्यक भए पनि यही बहानामा अनियमतिता गरिएको भन्दै सरकारको चर्काे आलोचना हुन थालेको छ । त्यही भएर प्रधानमन्त्रीले खरिद प्रकरणबारे चासो देखाएको ती मन्त्रीले बताए ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल बैठकमा केही नबोलेको ती मन्त्रीले बताए । ‘उच्चस्तरीय समितिको संयोजन गरिरहनुभएका उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले प्रधानमन्त्रीले स्वास्थ्य उपकरण खरिद प्रकरणमा चासो देखाए पनि खास कुनै टिप्पणी बैठकमा गर्नुभएन’, ती मन्त्रीले भने, ‘त्यसबारे उहाँहरू चुप नै बस्नुभयो ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।