काठमाडौं,१६ चैत – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको विश्वव्यापी महामारीका घडीमा आवागमनको अधिकारभन्दा आमनागरिकको जीवन महत्वपूर्ण भएकाले जो जहाँ छ त्यही रहनु सर्वोत्तम उपाय हुने बताएका छन् । राष्ट्रिय समाचार समिनिलाई आज आफ्नो कार्यकक्षमा अन्तर्वार्ता दिने क्रममा मन्त्री ज्ञवालीले यस विश्वव्यापी महामारीको सामना गर्न विश्व व्यवस्था पूर्व तयारीमा नभएकाले यसले शक्तिशाली मुलुकलाई समेत हल्लाएको उल्लेख गर्दै विदेशबाट नेपाल वा नेपालबाट विदेशको यात्रा असुरक्षित हुने हुँदा जोखिम नलिन आग्रह गरे ।
उनले अहिलेको महामारीसँग लड्न अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीलाई उच्च प्राथमिकता दिई तिनलाई प्रोत्साहन र बीमाको व्यवस्था गर्न लागिएको बताउँदै महामारीविरुद्ध जुध्न जिम्मेवार राजनीतिक दल, नागरिक समाज र स्थानीय तहको सहयोग आवश्यक रहेकामा जोड दिए । उनले भने, ‘स्थानीय तहले आफ्नो क्षमता र औचित्य देखाउने बेला यही हो । हामीले उहाँहरूरुबाट त्यही क्षमताको अपेक्षा गरेका छौँ ।’
लकडाउनका समयमा तमासा गर्ने, जानीजानी अवज्ञा गर्ने, विरोधका लागि विरोध गर्ने र झुटा विवरण दिने प्रवृत्ति निरुत्साहन गर्दै यस्तो बेलामा पनि सरकारप्रति आशङ्का गर्ने, अनेकौँ अफवाह फैलाउने र कुण्ठाग्रस्त भई स्वार्थको रोटी सेक्न खोज्नु चिन्ताजनक विषय भएको मन्त्री ज्ञवालीको भनाइ छ ।
लकडाउनको अवधि थपिने सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले भने, ‘सरकारलाई त्यस्तो सुझाव प्राप्त भएको छ, जनताले सुझबुझपूर्ण ढंगले संकटका बेला गरेको समर्थनप्रति सरकार आभारी छ ।’ मन्त्री ज्ञवालीसँगको विस्तृत अन्तर्वार्ता सोमबारको रासस बुलेटिनमा दिइनेछ । रासस