आजदेखि साँझ ५ बजे फेसबुकमा लाइभ नाटक – Himalayan Dainik

आजदेखि साँझ ५ बजे फेसबुकमा लाइभ नाटक


आजदेखि साँझ ५ बजे फेसबुकमा लाइभ नाटक

काठमाडौँ, १४ चैत – ‘लक डाउन’को अवधिमा पनि ‘रङ्गमञ्च महोत्सव’ हुने भएको छ । विश्व रङ्गमञ्च दिवसको अवसर पारेर थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले संयुक्त रूपमा महोत्सव आयोजना गर्न लागेको हो ।

निर्देशक केदार श्रेष्ठले कोरोना भाइरसको महामारीले पैदा गरेको संकटको समयमा रङ्गमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन फेस्टिभल गर्ने सोच बनाएको बताउदै उनले भने, ‘हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिम हुनेछ । घरमै बसेर नाटक हेर्न सकिनेछ, प्रतिक्रिया दिन सकिनेछ,’ हरेक साँझ ५ बजे थिएटर मलको फेसबुक पेजमा एउटा नाटक देखाइनेछ ।

महोत्सवलाई ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ अर्थात ‘क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०’ नाम दिइएको छ । लाइभ स्ट्रिमिङ थिएटर टाइम जस्तै ठिक समयमा हुनेछ र थिएटरकै नियमहरू लागू हुनेछ । लाइभ स्ट्रिमिङ पछि नाटक पुनः हेर्न नपाइने भएकाले दर्शकलाई समय छुट्याउनसमेत आग्रह गरे ।