नाकामा ओहोरदोहोर बन्द, ढुवानी नराेकिने – Himalayan Dainik

नाकामा ओहोरदोहोर बन्द, ढुवानी नराेकिने


नाकामा  ओहोरदोहोर बन्द, ढुवानी नराेकिने

काठमाडौँ, १० चैत – सरकारले एक साताका लागि भारत र चीनतर्फका सबै नाका बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको जोखिम बढ्दै गएको ठहर गर्दै दुवै देशको सीमा बन्द गर्ने निर्णय गरेको हो ।

आपूर्ति र ढुवानी भने नरोक्ने निर्णय सरकारले गरेको छ । ‘यो संक्रमण धेरै व्यक्तिको आवतजावतले सर्न सक्ने भएकाले छिमेकी मुलुकहरूको समेत हितलाई ध्यानमा राखेर भोलि चैत १० गते १० बजेदेखि एक साता अर्थात् चैत १६ गतेसम्मका लागि हाम्रो अन्तर्राष्ट्रिय सीमाका सबै प्रवेश नाकाहरुमा यात्रु आवागमन स्थगित गर्ने निर्णय गरिएको छ,’ बैठकपछि राति गरिएको पत्रकार सम्मेलनमा सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले भने, ‘यात्रुबाहेक आपूर्ति र ढुवानी भने नियमित हुनेछन् ।’

उपप्रधानमन्त्री नेतृत्वको समितिले छिमेकी मुलुक भारततर्फबाट नेपाल प्रवेश गर्नेको संख्या उच्च भएपछि शनिबारै त्यसतर्फको नाका बन्द गर्न भारत सरकारलाई प्रस्ताव गरेको थियो । भारत सरकारले स्पष्ट जवाफ नदिएपछि समितिले सीमा नाका बन्द गर्ने निर्णय लिनसकेको थिएन । आइतबार मात्रै पनि नेपालका लागि भारतीय राजदूतले गृहमन्त्री रामबहादुर थापासँग पनि छलफल गरेका थिए ।

भारत पक्षले सीमा बन्दका लागि सकारात्मक जवाफ नदिए पनि सरकारले एकपक्षीय ढंगले आफ्ना अन्तर्राष्ट्रिय नाकाहरू बन्द गर्ने निर्णय लिएको हो । नागरिक दैनिकले खबर छापेकाे छ ।