फिल्ममा ५० करोड क्षतिको अनुमान, निर्माता संघले माग्यो ऋण मिनाहा – Himalayan Dainik

फिल्ममा ५० करोड क्षतिको अनुमान, निर्माता संघले माग्यो ऋण मिनाहा


फिल्ममा ५० करोड क्षतिको  अनुमान, निर्माता संघले माग्यो ऋण मिनाहा

काठमाडौँ, ६ चैत – डेढ महिना फिल्म उद्योग बन्द हुँदा पचास करोडभन्दा बढी घाटा हुने भएको छ । पेशासँग जोडिएका प्राविधिक र हलका कर्मचारी बेरोजगार हुने जोखिम पनि छ ।

कोरोना भाइरसबाट जोगिन भन्दै सरकारले बैशाख १८ गतेसम्म फिल्म हल बन्द गरेको छ । जसले गर्दा ९ वटा फिल्मको रिलिज रोकिएको छ । यसले रिलिज क्यालेन्डर प्रभावित हुनेछ । दर्जन फिल्मको सुटिङ रोकिएको छ र धेरैले धकेलेका छन् ।

फिल्म उद्यमी नकिम उद्दिनका अनुसार बन्दको असर सबैभन्दा हलमा पर्ने बताए । ‘हल बन्द भएपनि भवनको भाडा तिर्नुपर्ने, स्टाफलाई तलब दिनुपर्ने र बैंकलाई ब्याज बुझाउनुपर्ने हुन्छ’ क्यूएफएक्स सिनेमाज्का प्रमुख समेत रहेका उनले भने ।

बन्द हुँदा ठूलो संख्यामा फिल्ममा आश्रित प्राविधिकहरु बेरोजगार हुने र आर्थिक संकट पैदा हुने अनुमान गरिएको छ । निर्माता संघले सरकारसँग राहत माग्दै तीनबुँदे ज्ञापन पत्र बुझाएको छ । टिकटमा लाग्ने भ्याट र बिजुली बत्तीमा मिनाहा हुनुपर्ने उसको माग छ । पारिश्रमिकमा कटाइने टीडीएस मिनाहा माग समेत छ ।

निर्माता, प्रदर्शक र गीत संगीत उत्पादकले बैंकबाट लिएको ऋणको ब्याज पूर्णरुपमा मिनाहा गर्न समेत संघले माग गरेको छ । हलिउड रिपोर्टरका अनुसार कोरोना भाइरसको असरले ५ खर्ब ८० अर्बको घाटा हुनसक्छ ।