भक्तपुरको विकासमा तीब्र सांसद बस्नेतद्धारा एकै दिनमा तीन वटा आयोजनाको शिलान्यास – Himalayan Dainik

भक्तपुरको विकासमा तीब्र सांसद बस्नेतद्धारा एकै दिनमा तीन वटा आयोजनाको शिलान्यास


भक्तपुरको विकासमा तीब्र सांसद बस्नेतद्धारा एकै दिनमा तीन वटा आयोजनाको शिलान्यास

भक्तपुर, ५ चैत – विकास र समृद्धिको मुलुककै नमुना जिल्लाको रुपमा स्थापीत भक्तपुर जिल्लामा दैनिक रुपमा एकै तीन वटा शिलान्यास तथा उद्घाटन हुने गरेको छन् । जस अनुरुप नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आज एकै दिन तीन वटा आयोजनाको शिलान्यास गर्नुभएको छ ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद कोष) अन्तरगत रु २५ लाख लागतमा सूर्यविनायक नगरपालिका वडा नं. ९ स्थित तल्लो खत्री गाउँदेखी ट्रष्ट पुल जाने बाटो सिँढी निर्माणको शिलान्यास रुपमा सम्पन्न भयो । त्यस्तै सोही वडाको पर्यटकीय स्थलको रुपमा रहेको सूर्यमोडमा साझेदारी कार्यक्रम अन्तरगत नै रु २० लाखको लागतमा सामुदायीक भवनको समेत शिलान्यास गरिएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सूर्यविनायक नगरपालिका र सांसद विकास कोषबाट विनियोजित रु २० लाखको लागतमा पाण्डुबजार गेट निर्माण कार्यको शुभारम्भ गरिएको छ । उक्त तीन वटै आयोजनाहरु आगामी आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र राज केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सांसद बस्नेतले स्वास्थ्य सतर्कता अपनाउँदै कुनै पनि विकासलाई रोक्न नहुने उल्लेख गर्दै भक्तपुरको विकास अघि निरन्तर रुपमा बढिरहने बताउनुभयो । भक्तपुरका अधिकाशं सवै ठाउँहरुमा विकासै विकासले घेरिएको उल्लेख गर्दै उहाँले अबका दिनमा भक्तपुरका आम नागरिकले विकास भएन भनेर गुनासो गर्ने दिन क्रमिक रुपमा हट्दै जाने उल्लेख गर्नुभयो ।

भक्तपुरको विकास नयाँ तरिकाबाट हुन थालेको बताउँदै उहाँले भन्नुभयो, ‘भक्तपुरको विकास मानिसको आनी–वानीसँग जोडेर अघि बढाउनु अहिलेको अनिवार्य आवश्यकता हो । स्वस्थ रहन पदमार्ग, खेलकुद मैदान, झोलुङ्गे पुलहरु बनाउन शुरु भएका छन् । हाम्रो चाहना के हो भने मानिसले शहरीया जीवनसँगै हिड्ने क्रम घटेको र हाम्रो शरिरलाई आवश्यक पर्ने व्यायाम नपुग हुन थालेको छ । जसले गर्दा मानिसको स्वास्थ्यमा गम्भीर समस्याहरु उत्पन्न हुन थालेका छन् । त्यसलाई रोक्न पदमार्ग तथा झोलुङ्गे पुल, सिढिलगायतका निर्माण गर्नु आवश्यकता रहेको छ ।’

नंखेल र चित्तापोललाई जोड्ने साँगामा उपत्यकाकै सवैभन्दा लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उहाँले आगामी बैशाख १ गते उद्घाटन गरी पर्यटकीय तथा आध्यात्मीक गन्तव्यको रुपमा विकास गर्न थप महत्वपूर्ण कार्य हुने बताउनुभयो ।

भक्तपुरको नंखेललगायतका जिम्लाभरी नै विकासको काम व्यापक मात्रामा भएको मात्र नभई बाढी नै आएको उल्लेख गर्दै उहाँले सडक, खानेपानी, ढल, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा आमुल परिवर्तन हुँदै गएको उल्लेख गर्नुभयो । पलाँसे–डोलेश्वर सडक कालोपत्रे सम्पन्न हुने तयारीमा रहेको, डोकेखोला–त्रिवेणी खोलालागतका ठाउँहरुमा ठूला साना गरी १६ वटा पुलहरु निर्माण तथा उद्घाटनको चरणमा रहेको जानकारी गराउनुभयो ।

भातेढकुरोबाट नन्दिकेशर जाने सडकमा दुई करोड तीस लाखको लागतमा कालोपत्रे गर्ने कार्य भइरहेको, जोरपाटी–मारपाटी सडक पनि कालोपत्रे गर्ने कार्य भइरहेको, जोरपाटीबाट वडा कार्यालय, वडा कार्यालयबाट खड्कागाउँ जाने सडक निर्माणको प्रकृयामा रहेको जानकारी गराउँदै उहाँले भक्तपुरमा जता ततै विकासको लहर आएको बताउनुभयो ।

मुलुकभर भक्तपुरको जस्तै व्यापक मात्रा विकास भइरहेको जानकारी गराउँदै सामाजिक सञ्जाल तथा केही मिडियामा आएका नकरात्मक टिका टिप्पणीको कुनै अर्थ नरहेको उल्लेख गर्नुभयो । उहाँले नकरात्मक टिप्पणी गर्नेलाई मैदानमा आई स्थलगत अध्ययन गरेर मात्र आफ्नो विचार प्रस्तुत गर्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘विकास आयोजनाहरु व्यापक मात्रामा भइरहेका छन् । जसको हामीले प्रचार आवश्यक मात्रामा गर्न सकेनौं कि भ्रम फिजाउने शक्तिहरु व्यापक मात्रामा सक्रिय भएका छन् । यस अर्थमा म के अनुरोध गर्न चाहन्छु भने विकास भक्तपुरमा मात्र भएको हैन, मुलुकभर भएका छन् । भक्तपुरमा केही मात्रामा अलि बढी भएका छन् तर विकासले मुलुकभर व्यापकता छाएको छ ।’

सूर्यविनायकदेखी धुलिखेलको सडकलाई ६ लेनको बनाउने प्रकृया अघि बढिसकेको जानकारी गराउँदै उहाँले उक्त सडक खण्डमा १५२ वटा रुखहरु परेको र त्यसलाई हटाउन करिव ४५ लाख लागत लाग्ने देखिएकोले त्यसको व्यवस्थापन भइरहेको जानकारी गराउनुभयो । उहाँले अरनिको राजमार्गमा हुने दुर्घटना न्युनिकरण, अपराधिक गतिविधि न्युनिकरण गर्न ठाउँ ठाउँमा सिसि टिभिको व्यवस्था गर्ने तयारी भइरहेको समेत जानकारी गराउँदै सुरक्षित अरनिको राजमार्ग बनाउने तयारी भइरहेको उल्लेख गर्नुभयो ।