काठमाडौं, चैत ५ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपाल सचिवालय बैठकमा अनुपस्थित हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा नेता नेपाल अनुपस्थित हुनुभएको हो ।
नेता नेपाल सचिवालय बैठकमा नबसी पूर्वनिर्धाीरत कार्यक्रमका लागि लुम्बिनी जानुभएको उहाँको सचिवालयले जनाएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार दिउँसो भएको छलफलपछि आज सचिवालय बैठक डाकिएको थियो । दुई अध्यक्षले छलफल गरी आफूलाई जानकारी नै नदिइ बैठक बोलाएको भन्दै नेता नेपाल अनुपस्थित भएको स्रोतको भनाई छ ।
नेता नेपालले दुई अध्यक्षबीच सहमतिलाई चुनौती दिँदै आफ्नो सहभागितामा मात्रै बैठकको मिति र एजेण्डा तय हुनुपर्ने अडान पछिल्लो समय राख्दै आउनु भएको छ ।