कोरोना भाइरस रोकथाम र नियन्त्रण अभियानअन्तर्गत कोरोना भाइरस संक्रमण नभएको पुष्टि गर्ने स्वास्थ्य प्रमाणपत्र नल्याएकालाई फर्काउने नीतिअन्तर्गत ३६ जना विदेशीलाई विमानस्थलबाटै फर्काइएको अध्यागमन कार्यालय प्रमुख सागर आचार्यले जानकारी दिए ।
विदेशबाट आउने यात्रीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा ७ दिनको स्वास्थ्य प्रमाणपत्र बुझाउनु पर्ने नियम सरकारले लगाएको छ। भिसा र फर्कने टिकट नभएका विदेशीलाई विमानस्थलस्थित ‘डिटेक्सन’कक्षमा राख्ने गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयबमोजिम गृह मन्त्रालयले अनअराइभल भिसा दिन बन्द गरेको छ। नेपाल आउन चाहने विदेशीले सम्बन्धित मुलुकस्थित नेपाली दूतावासबाटै भिसा लिनुपर्ने नियम लगाइएको छ। यसअघि विदेशीले त्रिभुवन विमानस्थल आएपछि अनअराइभल भिसा लिएर पनि नेपाल प्रवेश गर्ने गरेका थिए।