प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै मोदीलाई दिएको सन्देश – Himalayan Dainik

प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै मोदीलाई दिएको सन्देश


प्रधानमन्त्री  केपी शर्मा ओलीले अस्पतालबाटै मोदीलाई दिएको सन्देश

काठमाडौं, ३० फागुन  – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण फैलिन नदिन आफ्नो नेतृत्वको सरकार सार्क सदस्य राष्ट्रका नेतृत्वसँग निकट सम्पर्कमा रहेर काम गर्न तत्पर रहेको प्रष्ट पार्नुभएको छ । मिर्गाैला प्रत्यारोपणपछि अस्पतालमा स्वास्थ्यलाभ गरिरहनुभएका प्रधानमन्त्री ओलीले आफ्नो पहिलो ट्वीटमार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई जवाफ दिँदै यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।

कोभिड–१९ को संक्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औंल्याउँदै मोदीले आज बिहान ट्वीट गर्नुभएको थियो । मोदीको सो प्रस्तावको स्वागत गर्दै प्रधानमन्त्री ओलीले उपचारपछिको पहिलो ट्वीटमै यस्तो बताउनु भएको हो । मिर्गौला प्रत्यारोपण गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा स्वास्थ्यलाभ गरिरहेका ओलीले सार्क देशका नागरिकलाई कोरोना भाइरसबाट सुरक्षित राख्न भारतीय प्रधानमन्त्रीले सार्क राष्ट्रका नेतृृत्वबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट छलफल गर्न सकिने भनेर गरेका प्रस्तावको स्वागत गर्नुभएको छ । त्यसका निम्ति आफ्नो सरकार तयार रहेको जनाउ पनि प्रधानमन्त्री ओलीले दिनुभएको छ ।

आफ्नो उपचारमा जानुअघि नै कोरोनाको प्रकोप फैलन नदिन उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा मन्त्री र सम्वद्ध निकायका पदाधिकारी सम्मिलित समिति बनाउनु भएका प्रधानमन्त्री ओलीले उपचारपछि पहिलो धारणा कोरोनाकै बिषयमा राख्नुभएको हो । उहाँको यो कदम कोरोनाबिरुद्धको लडाईमा जीतका लागि सरकारले चालेको कदमका रुपमा लिन सकिन्छ । मोदीको यो प्रस्तावसँगै सार्क सक्रिय बन्ने संकेत देखिएको छ ।

यता कोरोनाबिरुद्धको साझा प्रयाशमा अघि बढाउने भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावलाई भुटान, श्रीलंका र माल्दिभ्सले पनि स्वागत गरेका छन । श्रीलंकाका राष्ट्रपति गोटबया राजपक्षेले ट्विट गर्दै कोरोनाविरुद्ध लड्न छलफल गर्न, अनुभव साट्न आफू तयार रहेको बताउनु भएको छ । उहाँले सार्कका नागरिकलाई सुरक्षित राख्ने काममा श्रीलंकाको एक्येवद्धता जाहेर गर्नुभएको छ । यस्तै, भुटानका प्रधानमन्त्री लोतेय छिरिङले यस्तो अवस्थामा सार्क राष्ट्रका सदस्यहरुको एकता आवश्यक रहेको बताउनु भयो । उहाँले ट्विट गर्दै आफू पनि भिडियो कन्फरेनसका लागि अतयार रहेको प्रतिक्रिया दिनुभएको छ ।

माल्दिभ्सका राष्ट्रपति इब्राहिम सोलिहले पनि भारतीय प्रधानमन्त्री मोदीको प्रस्तावलाई स्वीकार गर्नुभएको छ । ट्विटमार्फत नै उहाँले कोरोनाविरुद्ध लड्न एक्येवद्धता आवश्यक रहेका बताउनु भएको छ । सार्क राष्ट्रमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तान सदस्य रहेका छन ।