हिमाल बचाऊ अभियानमा जुट्न मन्त्री गुरुङको आग्रह – Himalayan Dainik

हिमाल बचाऊ अभियानमा जुट्न मन्त्री गुरुङको आग्रह


हिमाल बचाऊ अभियानमा जुट्न मन्त्री गुरुङको आग्रह

काठमाडौं, २९ फागुन – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘हिमाल बचाऊ’ अभियानमा लाग्न हिमाल आरोहीहरुलाई आग्रह गर्नु भएको छ । मन्त्री गुरुङले हिमाल आरोहीहरुले हिमाली क्षेत्रका प्राकृतिक स्रोतहरुको उचित व्यवस्थापन हुने गरी आवश्यक तालिमको व्यवस्था गरेर रोजगारीको वैकल्पिक व्यवस्था गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नु भयो ।

हिमाल आरोहीहरुले जलवायु परिवर्तनका कारण संकटमा परेको हिमाल बचाऊ अभियानमा लाग्न ढिलाई गर्न हुन्न,’ बिहीबार काठमाडौंमा नेपाल पर्वतारोहण संघले तालिम प्राप्त आरोहीहरुलाई प्रमाण पत्र वितरण गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भन्नु भयो, ‘पर्यटन व्यवसायलाई उद्यमको रुपमा विकास हुने गरी हिमाल आरोहणको क्षेत्रमा आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने आवश्यक्ता छ ।’ पर्यटक गाईडको रुपमा काम गरिरहेकाहरुलाई हिमाली क्षेत्रको जडिबुटीलगायतका प्राकृतिक स्रोतहरुको परिचालन गरेर उद्यमी हुने गरी तालिम दिने व्यवस्था नेपाल पर्वतारोहण संघले गर्नुपर्ने मन्त्री गुरुङको भनाई छ ।

उहाँले हिमाल आरोहणको क्षेत्रमा दक्ष जनशक्ति निर्माण गर्ने काममा नेपाल पर्वतारोहण संघले खेल्दै आएको भूमिकाको पनि प्रशंशा गर्नु भयो । कार्यक्रममा बोल्दै नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले हिमाल आरोहीहरुको हितमा केन्द्रित हुने गरी आवश्यक ऐन, कानुनको व्यवस्था गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराउनु भएको थियो ।