माघे सङ्क्रान्तिका दिन बालबालिकासँग राष्ट्रपति भण्डारी – Himalayan Dainik

माघे सङ्क्रान्तिका दिन बालबालिकासँग राष्ट्रपति भण्डारी


माघे सङ्क्रान्तिका दिन बालबालिकासँग राष्ट्रपति भण्डारी

काठमाडौं,१ माघ – माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) का अवसरमा आज राष्ट्रपति भवन शीतल निवासमा ‘बालबालिकासँग राष्ट्रपति’ नाम दिइएको कार्यक्रमका क्रममा सुनिएका यी संवादले अरू दिनमा भन्दा आजको शीतलनिवासको वातावरण फरक देखिएको थियो । राष्ट्रपति कार्यालयका कर्मचारीले बालबाबलिकालाई प्रश्न सोध्दै जवाफ लिँदै र बालबालिकाले नबुझेका वा उनीहरूले जान्न चाहेका कुराबारे अवगत गराउँदै थिए ।

कतिपय बालबालिका गुन्यू चोली र दौरा सुरुवालमा सजिएर आएका थिए भने कतिपय अनौपचारिक पोशाकमा शीतलनिवास पुगेका थिए ।

बालबालिकालाई राष्ट्रपति भण्डारीले प्रदूषण कम गराउने लक्ष्यका साथ प्रयोग गर्ने गर्नुभएको विद्युतीय गाडीबारे पनि विद्यार्थीलाई जानकारी दिइएको थियो । परिसर वरिपरिका बगैँचा, पाहुना कक्ष, सुरक्षा कक्षका साथै बाहिर जाने र भित्र जाने ढोकाका बारेमा पनि बालबालिकाले चासो दिएका थिए ।

‘बालबालिकासँग राष्ट्रपति’ कार्यक्रममा सहभागी नेपाल बाल संगठनका छ वर्षभन्दा माथि उमेरका बालबालिकाहरूमध्ये कतिपय पहिला पनि शीतलनिवास पुगिसकेका थिए ।

पहिलाभन्दा अहिले नयाँ नयाँ भवन र सरसफाइ गरेर परिसरलाई चिटिक्क बनाइएको छ । अभिभावक र सहाराबिहीन बालबालिकालाई आश्रय दिँदै आएको बाल संगठनका बालबालिकालाई यसअघि पनि शीतलनिवासमा बोलाइएको थियो । राष्ट्रपति भण्डारीको इच्छाअनुसार उनीहरूलाई समयसमयमा लुगाफाटो र मिठाइ दिने पनि गरिएको थियो ।

बाल संगठनका गृह व्यवस्थापन शाखाका प्रमुख सविता लम्सालले राष्ट्रपतिको निमन्त्रणामा आज सिफल र नक्सालका छ वर्षमाथिका बालबालिकालाई शीतलनिवास ल्याइएको जनाउँदै यस्ता कार्यक्रमबाट उनीहरूले खुशी हुने बताउनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिका भविष्यका जिम्मेवार नागरिक भएकाले उनीहरूका लागि लगानी बढाउन सरकार र सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको थियो । उहाँले बालबालिकाको शिक्षा र स्वास्थ्यका साथै उनीहरूलाई असल नागरिक बनाउन लगानी बढाउन र हेरचाहमा कुनै कमीकमजोरी भए विशेष ध्यान दिन संसद् र सरकारले ध्यान दिने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘बालबालिकाको हितका लागि राष्ट्रको ध्यान खिचियोस् भनेर प्रकृति र संस्कृतिसँग जोडिएको माघी पर्वका अवसरमा भेटघाट कार्यक्रम राखिएको हो ।’ उहाँले आफू एक दिन भए पनि बालबालिकासँग रमाउन र उनीहरूलाई अभिभावकत्व दिन पाउँदा खुशी भएको बताउनुभयो ।

विगतमा माघीका अवसरमा राजनीतिक दलका नेताहरूसँग भेटघाट तथा चियापान कार्यक्रम राखिने गरेकामा पछिल्लो दुई वर्षयता राष्ट्रपतिले आजको दिन बालबालिकासँग बिताउँदै आउनुभएको छ । बिदा भएर जाने बेलामा बालबालिकालाई बाल रचनामा आधारित बुँद राणाको ‘बुष्टकारी¬’ र रामबाबु सुवेदीको ‘भँगेरी’ बाल कविता संग्रह उपलब्ध गराइएको थियो