काठमाडौँ, ८ पुस – महिला आधारसिला जोरपाटी र मेलम्ची नगरपालिका भोटेचौरमा आयोजित निःशुल्क आँखा शिविरबाट सातसय २१ जना लाभान्वित हुनुभएको छ ।
महिला आधारसिला जोरपाटीले नेपाल नेत्रज्योति सङ्घको प्राविधिक सहयोगमा आयोजित निःशुल्क आँखा शिविरमा सहभागीमध्ये ७९ जना मोतिविन्दुको समस्या भएको पाईएको छ ।
विशेष गरी महिला, दलित, मधेसी सिमान्तकृत वर्गका ६०–८९ वर्षसम्मले शिविरमा निःशुल्क आँखा जाँच गराउनुभएको महिला आधारसिलाका अध्यक्ष रेणु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ७९ जनाकै मोतिविन्दुको निःशुल्क सल्यक्रिया नेपाल नेत्रज्योती सङ्घ कीर्तिपुरमा भइरहेको जानकारी दिनुभयो ।
घरेलु ंिहसाबाट पीडित महिला दिदीवहिनीको उद्धार, कानुनी सहयोग गर्दै आएको महिला आधारसिलाले संस्थाको वार्षिक कार्यक्रम अन्तरगत नै हरेक वर्ष निःशुल्क आँखा शिविरको आयोजना गर्दै आएको छ ।
वि.स. २०५२ मा स्थापना भएको महिला आधारशीलाले “हिंसा पीडित महिलालाई सर्वप्रथम सुरक्षित आवास, त्यसपछि सीपमार्फत् आत्मनिर्भर बनाउने काम पनि गर्दै आएको छ ।
संस्थाका महासचिव कमला उप्रेतीका अनुसार, हिंसा पीडित महिला र सीप सिकेर आत्मनिर्भर बन्न चाहने अन्य महिलालाई संस्थाले निःशुल्क तालिम दिँदै आएको छ । संस्थाले सल बुन्ने, जुत्ता बनाउने, हाउस वायरिङ, मोबाइल मर्मत गर्नेलगायत तालिम दिँदै आएको छ ।