भैरहवा, २९ कात्तिक – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उत्पादनमा वृद्धि गरेर रोजगारी सृष्टि गर्ने कार्यमा जोड दिनुपर्ने बताउनुभएको छ ।
सहकारी विभागले आयोजना गरेको “स्थानीय तहका पदाधिीहरुबीच सहकारी नियमन तथा प्रवर्द्धन” विषयक अन्तरक्रिया गोष्ठीलाई आज (शुक्रबार) रुपन्देहीको भैरहवामा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभयो ।
कृषिको आधुनिकिकरणमार्फत कृषिमा आधारित जनशक्तिलाई अन्यत्र लगाउन सकिने बताउदै उहाँले भन्नुभयो ‘उत्पादन वृद्धि रोजगारी सृष्टि, अबको योजना हुनुपर्छ । अबको दिशा उत्पादनमार्फत आर्थिक विकास गर्ने नै हो ।’ उत्पादन सम्बन्धलाई जोड नदिइकन गरिबी निवारण गर्न नसकिने भन्दै मन्त्री अर्यालले कुल उत्पादनको ग्राह्स्थ ३ वर्षमा दोब्बर भएको बताउनुभयो । यो आंकडालाई राम्रो मान्नुपर्ने बताउनुभयो ।
राज्य सुखी नेपाली समृद्ध नेपालको दिशामा अगाडि बढेको भन्दै मन्त्री अर्यालले समृद्धिको बाटो नै मुलुक विकासको प्रमुख आधार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब समाजमा कुनै खाडल रहन हुदैन । त्यसका निम्ति आर्थिक समृद्धिको दिशामा अगाडि जानुपर्छ । त्यो हुनका निम्ति सरकार बलियो हुनुपर्छ ।’
तरकारी उत्पादनमा नेपालले राम्रो गरेपनि फलफूल उत्पादनमा अत्यन्तै न्यून रहेको भन्दै मन्त्री अर्यालले उत्पादन वृद्धि गर्दै रोजगारी सृष्टि गर्दै जानुपर्ने आजको आवश्यकता भएको बताउनुभयो । कृषि सहकारीले गर्दै आएको उत्पादन र बजारीकरण हामीकहाँ नमुना रहेको भन्दै उहाँले व्यवसायीक क्षेत्रमा लागेका साना किसानको उत्पादनमा प्रोत्साहन र बजारीकरणमा जोड दिनुुपर्ने बताउनुभयो । एकअर्काको अनुभवको सिकाइ, आदानप्रदान र वस्तुस्थिति अनुसारको विकासको मोडेल तयार गरेर जानुपर्ने भन्दै उहाँले सहकारीलाई व्यवस्थित गरेर,सहकारी मार्फत गरिबी निवारण गर्न लाग्नुपर्ने बताउनुभयो ।
अबको विकास समाजवादलाई पछ्याउने खालको हुनुपर्नेमा उहाँको जोड थियो । ‘हामीले स्थापित गरेको मान्यता व्यवहारिक रुपमा कार्यान्वयन गर्न त्यसतर्फ लाग्नुपर्ने आवश्यकता आएको छ ।संविधानमा समाजवाद हामीले लेख्यौ । अब व्यवहारिक कार्यान्वयन गर्नेबेला आएको छ ।’
सहकारी स्थानीय तहमा हस्तान्तरण गरिसकेको र अनुगमन, नियमन देखि दर्ता, खारेजी गर्नेसम्मका काम स्थानीय तहलाई जिम्मेवारी दिइएको बताउनुभयो । तर कर्मचारी भएनन, सहकारी बुझेका मान्छे भएनन्, स्रोतसाधन भएनन्, प्रदेश तहमा सहकारी हेर्ने कुनै निकाय भएन भनेर भन्ने खालका गुनासा रहेको भन्दै यी अप्ठ्यारा हुदाहुदै पनि विषयको गम्भीरतालाई हेरेर कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
सिधै जनतामा पहुँच पुगेको क्षेत्र सहकारी भएको र ६५० अर्ब पुँजी परिचालन तथा तल बसेर मोटिभेशन भएको सामुहिक संस्था सहकारी भएकोले यसको महत्त्व धेरै भएको बताउनुभयो ।
अर्को प्रसङ्गमा मन्त्री अर्यालले विभिन्न तथ्यले लिम्पियाधुरा पनि नेपालकै हो भन्ने देखिने भन्दै सिमा नक्सा तयार गर्दा दुई देशको सहमतिमा गर्नुपर्ने बताउनुभयो । लिम्पियाधुराबाट बग्ने काली नदि नै सीमा रहेको भन्दै उहाँले यसको समस्या समाधान गर्न सरकारले दुई पक्षीय वार्ताको पहल थालिसकेको बताउनुभयो ।
कार्यक्रममा सहकारी विभागका रजिस्टार डा.टोकराज पाण्डेले सहकारीलाई स्थानीय तहसँग जोड्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यसैगरी रुपन्देही जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी भरत शर्माले श्रम सहकारीलाई अगाडि बढाउन सके धेरै राम्रो हुने बताउनुभयो ।