भक्तपुर, १० असोज – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रष्टको नाममा रहेको कुनै पनि जग्गा कसैले पनि कुनै पनि बाहनामा भोगचलन गर्न नपाउने बताउनु भएको छ ।
नेपाल ट्रष्टको नाममा रहेको भक्तपुरको सल्लाघारीस्थित कित्ता नं. ५४० को १०८ रोपनी २ आना एक पैसा क्षेत्रफल जमिनको आज स्थलगत निरिक्षण गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
नेपाल ट्रष्ट संचालक समितिका अध्यक्ष समेत रहनु भएका पोखरेलले भन्नुभयो–“यो नेपाल ट्रष्टको नाममा लालपूर्जा भएको सम्पत्ति हो, नेपाल ट्रष्टको नाममा रहेको जग्गामा कुनै व्यक्ति, वा कुनै निकायले केही गर्न सक्दैन ।”
नेपाल ट्रष्ट कानून अन्तर्गत चलेको र आफ्नो नामको सम्पत्ति व्यबस्थित गर्न कानून बनेको चर्चा गर्दै उहाँले मन्त्रिपरिषद्को निर्णय बिना केही गर्न नसकिने बताउनुभयो । नेपाल ट्रष्टको नाममा रहेको जग्गा अब ट्रष्ट आफैले संरक्षण गर्ने बताउदै उहाँले ट्रष्टले काठमाण्डौं उपत्यकाको मात्रै नभई पोखरा, हेटौडा, भरतपुर, सुर्खेत, धनगढी लगायत देशभर रहेका सम्पत्तिको संरक्षण सुरु गरेको बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधीसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपाल ट्रष्टको नाममा रहेको जग्गा भक्तपुर नगरपालिकाले पर्खाल लगाएर संरक्षण गरेपनि यसको स्वामित्व लिने प्रयास भने भक्तपुर नगरपालिकाले गर्न नहुने बताउनुभयो ।
२०७२ सालको महाभूकम्पमा यो चौर धेरैको आश्रयस्थल बनेको चर्चा गर्दै उहाँले यसलाई खुल्ला क्षेत्रको प्रयोजनमा लान सकिने बताउनुभयो । उहाँले स्थानीय सरकार भन्दैमा जे मन लाग्छ, त्यही कानून हो भन्नु गलत भएको चर्चा गर्दै उहाँले समन्वात्मक अबधारणामा जानु पर्ने भनाई राख्नुभयो ।
चाँगुनगरपालिकाले पर्यटन शुल्क उठाउँदा बिरोध हुने अनि भक्तपुर नगरपालिकाले उठाउन पाउने, क्यान्सर अस्पतालमा कानून विपरित नगरपालिकाले हस्तक्षेप गर्ने र यसको निकास नदिने यो शैलमिा नगरपालिका जान नहुने सांसद बस्नेतले धारणा राख्नुभयो ।कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिका कुनै एनजिओ नभएको टिप्पणी गर्दै स्थानीय सरकार भएकाले नेपाल ट्रष्टको नाममा रहेको उक्त जग्गा नगरपालिकाले पर्खाल लगाएर संरक्षण गरेको बताउनुभयो ।
“नगरपालिकाले संयुक्त नापी गर्दा अहिले जग्गा घटेर १०६ रोपनी २ आना बाँकी छ, यहाँको बहुमूल्य जग्गा अतिक्रमण भईसक्यो, नेपाल ट्रष्टलाई मतलब छैन, न त सरकारलाई नै छ,”–नपा प्रमुख प्रजापतिले भन्नुभयो–“जग्गा अतिक्रमण भएको टुलुटुलु हेरेर बस्न सकेनौ संरक्षण गरेका हौ, स्वामित्व लिएका छैनौ ।”
कार्यक्रममा नेपाल ट्रष्ट संचालक समितिका सचिव गजेन्द्र ठाकुरले नेपाल ट्रष्टको नाममा लालपूर्जा रहेको जग्गामा भक्तपुर नगरपालिकाले कुनै स्वीकृत नलिई पर्खाल लगाउने र भाडामा लगाउने गरेको बताउनुभयो ।
नगरपालिकालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत गृह मन्त्रालयले पत्र पठाएको बताउदै उहाँले यो कुनै सार्वजनिक र पर्ति जग्गा नभएकाले स्वीकृति बिना नगरपालिकाले केही गर्न नपाउने बताउनुभयो ।
नेपाल ट्रष्टको संचालक समितिको निर्णय पछि मन्त्रीपरिषरद्को निर्णय र त्यसपछि राज्य व्यबस्था समितिकोृ निर्णय गरेर मात्रै नेपाल ट्रष्टको जग्गा चलाउन पाउने व्यबस्था रहेको भन्दै उहाँले भक्तपुर नगरपालिकाले कर उठाएपनि भाडा उठाउन नपाउने बताउनुभयो ।
उहाँले नेपाल ट्रष्टले छिट्टै यहाँ सानो घर बनाएर पाले र कर्मचारी राखेर व्यबस्थापन गर्ने तयारी गरेकोले यहाँको साँचो हस्तान्तरण गर्न नगरपालिकालाई आग्रह गर्नुभयो ।
नेपाल ट्रष्ट संचालक समितिका सदस्य सचिव राजेश्वर ज्ञवालील्े नेपालमा १६ जिल्लामा २७ हजार रोपनी जग्गा नेपाल ट्रष्टको नाममा रहेको बताउदै उपत्यका भित्रको ठूलो सम्पत्ति सल्लाघारीको जग्गालाई ट्रष्ट आफैले व्यबस्थापन गर्ने बताउनुभयो ।