काठमाण्डौ,१ असोज – सिंहदरबारस्थित पुतली बगैंचामा निर्माण हुने संघीय संसद भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शिल्यान्यास गर्नुभएको छ ।
शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले संसदीय प्रणालीको राजनीति गरे पनि संसद बस्ने ठाउँ नभएकोे स्थिती अब अन्त्य हुने बताउनुभएको छ । “निर्माणमा कुनै प्रकारको विलम्ब मान्य हुँदैन । समयभित्र काम सक्नुहोस । गुणस्तरमा सम्झौता हुँदैन ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, यस भवनमा नेपाललाई अग्रगतिमा लैजाने ठुला ठुला निर्णयहरु हुनेछन् । यही भवनबाट धेरैवटा सक्षम सरकारहरु बन्नेछन् भन्ने मेरो अपेक्षा छ ।”
उक्त भवन निर्माणको लागत ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार रुपैयाँ अनुमान गरिएको छ । तर निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेन्चरले ५ अर्ब ६७ करोड २७ लाख ६१ हजारमा निर्माण कबुलेको छ ।
मन्त्रालयले तयार पारेको डिजाइन अनुसार तोकिएकै समयमा संसद भवन निर्माण भए अहिलेकै संसदका साथै आगामी निर्वाचन भएर बन्ने अर्काे प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका लागि भाडामा खर्च गर्नुपर्ने अरबौं खर्च जोगिनेछ ।
सिंहदरबारभित्रै भएको प्रतिनिधिसभा भवन पुरानो र सानो भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ । २०६४ साल चैतमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनदेखि नै संसद बैठक सम्मेलन केन्द्रमा सञ्चालन गरिएको छ ।
संसद सचिवालयका अनुसार हाल सम्मेलन केन्द्र विकास समितिलाई वार्षिक १५ करोड रुपैयाँ भाडा बुझाउने गरी सम्झौता भएको छ ।