साझाको सबै सेवालाई गुणस्तरियता ल्याउन मन्त्री अर्यालको आग्रह – Himalayan Dainik

साझाको सबै सेवालाई गुणस्तरियता ल्याउन मन्त्री अर्यालको आग्रह


साझाको सबै सेवालाई गुणस्तरियता ल्याउन मन्त्री अर्यालको आग्रह

काठमाडौं,भदौ ३१- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले साझालाई भएको सम्पत्ति मोभिलाइज गरेर उत्पादनमा लगाउन आग्रह गर्नुभएको छ । साझा भण्डार सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा आज (मंगलबार) काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

साझासँग प्रशस्तै सम्पत्ति देशभर छरिएर रहेको भन्दै त्यसलाई परिचालन गरेर उत्पादनमा लगाउन शेयर सदस्यहराई मन्त्री अर्यालले आग्रह गर्नुभएको हो । भएको सम्पत्तिको मोभिलाइज गर्दै केही नयाँ गर्ने कुरामा मन्त्रालय अगाडि बढ्न तयार छ । छलफलबाट अगाडि बढौला‘, उहाँले भन्नुभयो, ‘शेयर सदस्यहरूले अलि मन फुकाउनुस्साझामा लगाएको शेयर डुब्लाकी भन्ने डर नमान्नुस अब अलि मन बढाएर उत्पादनमूलक क्षेत्रमा काम गर्नेगरी अगाडि बढ्नुस ।

साझासँग रहेको सम्पत्ति जोगाउन आग्रह गर्दै उहाँले सम्पत्तिको सदुपयोग गरेर उत्पादनमा लगाउन आग्रह गर्नुभएको हो । तपाईहरूसँग अथाह सम्पत्ति छ । त्यो सरकारको सम्पत्ति हो त्यसलाई जोगाउनुस अतिक्रमित सम्पत्ति संरक्षण गर्नुस्‘, उहाँले भन्नुभयो, ‘सम्पत्ति छ त्यसको सदुपयोग गरेर थोरै लगानीमा भएपनि गुणस्तरीय वस्तु दिने प्रयत्न गर्नुस ।

साझा प्रकाशनलाई नयाँ ढंगले अगाडि बढाउने सोचमा रहेको भन्दै मन्त्री अर्यालले विगतमा साझा भण्डारले गुणस्तरीय उपभोग्य वस्तु जनस्तरमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । तर अहिले समय फेरिएकाले विगतको जस्तो अवस्था नरहेपनि जति सकिन्छ त्यति गुणस्तरिय सामग्री, वस्तु तथा सेवा जनतालाई उपलब्ध गराउन उहाँले आग्रह गर्नुभयो ।

समयअनुसार अहिलेको भूमिका अलिक फरक भएको भन्दै उहाँले संस्थाको प्रभावकारीता वृद्धि गरेर गुणस्तरीय वस्तु विक्रिवितरण गर्नतर्फ ध्यान दिन आग्रह गर्नुभयो । खानेकुरा सँगै सेवाप्रवाह पनि रहेको भन्दै ती सबै कुरामा शुद्धता ल्याउन आग्रह गर्नुभयो । बीचमा केही समस्या आयो भनेर तपाईहरु निराश नहुनुस । सरकार कानुन, सिस्टमबाट चलाउन हामी प्रयत्नरत छौ । राम्रो गर्नुपर्छ भन्ने हाम्रो सोचमा समानता छ । छलफलबाट राम्रो बनाउन, अगाडि बढाउने कुरामा म प्रतिवद्ध छु‘, मन्त्री अर्यालले भन्नुभयो ।

तीन अर्ब पैसा उपलब्ध गराएर साझा यातायातलाई नयाँ ढंगले अगाडि बढाउन गइरहेको भन्दै मन्त्री अर्यालले जसको प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।

अर्को प्रसंगमा मन्त्री अर्यालले सहकारी सिद्धान्त, मर्म बिपरित रातारात सहकारीले कमाउने सपना देखेपछि सहकारीमा विकृत्ति आएको बताउनुभयो । तर त्यसलाई समयमै रोक्न सकिने बताउनुभयो ।

सबै सहकारीले आफ्नो डेटा कोपोमिस प्रणालीमा दर्ता गराउनुस भनेर सिस्टममा आउन आग्रह गरिएको उहाँले आग्रह गर्नुभयो ।

सहकारीमा बचत गरेको रकम राखेर फाइदा नहुने भन्दै उहाँले त्यसलाई परिचालन गरेमा मात्रै फाइदा हुने बताउनुभयो । सहकारीमा जम्मा गरेको पैसा पोको पारेर राखेर त्यसले फाइदा गर्दैन । त्यसलाई उत्पादनमा लगाएर फाइदा हुन्छ । शेयर सदस्यको हितमा काम गर्नुस्‘, उहाँले भन्नुभयो । सहकारी संस्थामार्फत लगानीको निम्ति बाधक हुन्छ भनेपछि कानुन संशोधन गरेर जाने कुरामा सरकार अगाडि बढेको समेत मन्त्री अर्यालले बताउनुभयो ।

अब सहकारी संस्थाका सञ्चालकहरू पनि टीका लगाएर नभएर क्षमताका आधारमा प्रतिस्पर्धात्मक ढंगबाट निर्वाचित हुने सिस्टमको विकास गरिएको मन्त्री अर्यालले बताउनुभयो । त्यसको व्यवस्था सहकारी नियमावलीमा गरिएको उहाँले बताउनुभयो ।