काठमाडौं : संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संविधान दिवस सबैले भव्यताका साथ मनाउन भनेर बिदा दिइएको बताएका छन्।
संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसिमितिको बुधबार बसेको बैठकमा मन्त्री बाँस्कोटाले सरकारी कर्मचारीले पनि असोज ३ गते मनाइने संविधान दिवस भव्यताका साथ मनाउनुपर्ने बताए।
मन्त्री बाँस्कोटाले भने, ‘त्यो दिन तास खेल्न बियर खान गर्लफ्रेन्ड लिएर हिँड्न र ब्वाइ फ्रेन्डलाई भेट्नका निम्ती बिदा दिइएको होइन। त्यो राष्ट्रिय दिवस मनाउन भनेर दिइएको बिदा हो।’
कर्मचारीले उक्त विदाको बखत खटाएको ठाउँमा जानैपर्ने बाँस्कोटाको भनाइ थियो। उनले विदाको दिन त हो नि भनेर काठमाडौं आउन नपाइने बताए। उनले भने, ‘खटाएको छ कुन गाउँपालिका अनि यहाँ बसेर भाषण गरेर डेलिभरीको कुरा गर्ने?’
संविधानको प्रचारप्रसार गर्नका लागि संविधान दिवस मनाउन लागिएको मन्त्री बाँस्कोटाले बताए। संविधानप्रति कसैका फरक मत छन् भनेर विवाद गर्न नहुने बताए। उनले संविधान दिवस मनाउने धारणा राखे। उनले कार्यक्रम कसरी गर्ने भन्नेबारे समितिमा समेत छलफल गरेका थिए ।