भारतीय विदेशमन्त्री एस जयशंकरसँग बुधबार बालुवाटारमा भएको करिब एक घन्टा लामो एकान्त वार्तामा प्रधानमन्त्री ओलीले मोदीलाई राष्ट्रिय दिवसको प्रमुख अतिथि बनाउने प्रस्ताव गरेका थिए । जयशंकरले नेपाली प्रधानमन्त्रीको निम्ता भारतीय प्रधानमन्त्रीसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यो विषयमा भारतका तर्फबाट छिटै औपचारिक जानकारी आउने अपेक्षा गरिएको परराष्ट्र स्रोतले जनाएको छ ।

ओलीले राष्ट्रिय दिवसमा मोदीको आगमन भए नेपाल र भारतबीच बाँकी रहेका तिक्तता एकैसाथ समाधान हुने र विश्वासका नयाँ आधारमा सम्बन्ध अघि बढ्ने सन्देश पठाएका छन् । ‘मोदीले लुम्बिनी भ्रमणमा आउने इच्छा व्यक्त गरिरहनुभएको छ । राष्ट्रिय दिवसमा सहभागी हुने र लुम्बिनी भ्रमण गर्ने चाँजोपाँजो मिल्न सक्छ,’ कूटनीतिक स्रोतले भन्यो ।

चार वर्षअघि संविधान जारी गर्ने कार्यक्रम स्थगित गर्न मोदीको सन्देश बोकेर जयशंकर काठमाडौं आएका थिए । संयोगले संविधान दिवसको प्रमुख अतिथि बन्न मोदीलाई नेपालको निम्तो उनैले लगेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटपछि जयशंकर परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएका थिए । बैठक सकिएलगत्तै बुधबार राति परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आयोजना गरेको रात्रिभोजमा जयशंकरले अघिल्लो कार्यकालमा मोदीले चारपटक नेपाल भ्रमण गरेको दृष्टान्त दिँदै मोदीको सद्भाव मनन गर्न आग्रह गरेका थिए ।

३ असोज ०७२ मा नेपालमा संविधान जारी हुँदा भारत असन्तुष्ट थियो । तर, भारतले नेपालको संविधानलाई अहिलेसम्म खुला समर्थन नगरे पनि संवैधानिक जगमा भएका तीन तहको निर्वाचनलाई स्वागत गरेको छ । ओली प्रधानमन्त्री हुनुअघि १८ र १९ माघ ०७५ मा तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराज प्रधानमन्त्री मोदीको विशेष दूतका रूपमा काठमाडौं आएकी थिइन् ।

त्यही भेटवार्तामा स्वराजले मोदीको सन्देश सुनाउँदै नेपालको संविधानमा भारतको कुनै असहमति नरहेको र सफल निर्वाचनपछिको सरकारसँग भारतले सहकार्य गर्ने बताएकी थिइन् । त्यसपछि प्रधानमन्त्री ओलीको भारत भ्रमण र उनका समकक्षी मोदीको नेपाल भ्रमणमा उच्च राजनीतिक समझदारी कायम भएको दुवै पक्षले बताउँदै आएका छन् ।

तर, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराईले मोदीलाई आमन्त्रण गरिएको विषय आफूलाई जानकारी नभएको बताए । ‘प्रधानमन्त्री र विदेशमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय भेटमा यस्तो कुनै चर्चा भएन, अलग्गै भेट्दा कुराकानी भएको हुन सक्छ । तर, त्यसमा भएको प्रगतिबारे म जानकार छैन,’ भट्टराईले नयाँ पत्रिकासँग भने । आयोग बैठकका लागि काठमाडौं आएका भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भने निर्णय भइनसकेका विषयमा आफूसँग जवाफ नरहेको प्रतिक्रिया दिए । ‘निर्णय नभइसकेको हुनाले यस सम्बन्धमा जानकारी दिन सक्दिनँ,’ आचार्यले भने ।