फोहोरबाट मोहर बनाउने कार्यको शुभारम्भ गर्न आवश्यक : सांसद बस्नेत – Himalayan Dainik

फोहोरबाट मोहर बनाउने कार्यको शुभारम्भ गर्न आवश्यक : सांसद बस्नेत


फोहोरबाट मोहर बनाउने कार्यको शुभारम्भ गर्न आवश्यक : सांसद बस्नेत

भक्तपुर, २९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले फोहोरबाट मोहर बनाउने कार्यको शुभारम्भ गर्नुपर्ने आवश्यक रहेको बताउनुभएको छ ।

बुधबार सूर्यविनायक नगरपालिकाको आयोजनामा स्वस्थ जीवन, स्वच्छ खोलानाला, सम्पदा र धरोहर, उठौं जागौं बनाऔं पूर्ण सरसफाई उन्मुख सूर्यविनायक नगर भन्ने नाराका साथ सोही नगरपालिकाको पूर्ण सरसफाई रणनीतिक योजना २०७६ सार्वजनीकिकरण कार्यक्रममा बोल्दै सांसद बस्नेतले फोहोरबाट मोहर बनाउने कार्यको शुभारम्भ गर्नुपर्ने बताउँदै वातावरण स्वच्छता तथा विकासमा योजना, प्रतिवद्धता, चेतना र कार्यान्वयनले नै अभियानको सार्थकता भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विदेशमा हुँदा आएको थुक पनि निल्ने तर नेपालमा आएपछि नआएको थुक पनि थुक्ने प्रवृक्तिलाई अन्त्य गर्नुपर्छ । चेतनाको स्तर वृद्धि गर्नु अपरिहार्य रहेको छ ।’

उहाँले आगामी दिनमा वातावरण सफा र सुन्दर बनाउन सूर्यविनायक नगरपालिकाले एक आना जग्गामा एक विरुवा अनिवार्य वाध्यकारी नियम बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘कुनै पनि मानिसले घरको नक्सा पास गर्न आउँछ, उसलाई वातारण स्वच्छता, वृक्षारोपण, गोवर ग्यासलगायतका कार्यहरु गर्न वाध्यकारी नियम बनाई भुकम्प पिडितलाई जस्तै निशुल्क नक्सा पास गर्ने प्रावधान ल्याउनुपर्छ ।’

२०६८ सालमा भक्तपुर खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको र वर्तमान समयमा सूर्यविनायक, चाँगुनारायण र मध्यपुर थिमी नगरपालिकाले सँग सँगै रणनीतिक सरसफाई घोषणा गर्ने कार्य भइरहेको जानकारी गराउँदै उहाँले भक्तपुरमा सञ्चालनमा रहेको सरसफाई व्यक्तिगत, संस्थागत, शुद्ध खानेपानी, स्वच्छ वातावरण, मानसिक स्वच्छतालगायतका कुराहरु अपरिहार्य रहेको बताउनुभयो ।

हामीले नगरे कसले गर्ने र अहिले नगरे कहिले गर्ने ? भन्ने कुरा मुख्य ध्यान दिई अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले वातावरण स्वच्छता राख्नको निम्ती आफु र आफ्नो घर परिवर्तन हुन जरुरी रहेको औल्याउनुभयो । हनुमन्ते नदी सफाई अभियानको ७६औं हप्तासम्म पुग्न सफल भइसकेको जानकारी गराउँदै उहाँले घरयासी तथा अन्य स्थानबाट आउने फोहोर जसमा पुन प्रयोग हुन सक्ने र नसक्नेलाई छुट्याई संकलन गर्नुपर्नेमा जोड दिनुभयो ।

सूर्यविनायक एरियामा पोखरी तथा पार्क निर्माणको कार्य तिव्र गतिका साथ अघि बढिरहेको जानकारी गराउँदै उहाँले खानेपानीको व्यवस्थित योजना नभएका कारण समस्याहरु उत्पन्न भएको बताउँदै आगामी दिनमा ति समस्याहरु क्रमिक रुपमा समाधान हुने बताउनुभयो ।

हनुमन्ते नदीमा सवैभन्दा वढी फोहोर भक्तपुर नगरपालिकाले गर्ने गरेको बताउँदै उहाँले भन्नुभयो, ‘हनुमन्ते नदीलाई फोहोर बनाउन करिव ८० प्रतिशत भक्तपुर नगरपालिका, करिव १५ प्रतिशत मध्यपुर र बाँकी करिव ५ प्रतिशत मात्र सूर्यविनायक नगरपालिकाले ढल मिसाई फोहोर गर्ने गरेको जसमा करिव ८० प्रतिशत सफाईमा योगदान सूर्यविनायक नगरपालिका र २० प्रतिशत योगदान मध्यपुर थिमी नगरपालिकाले गरेको छ भने भक्तपुरले हनुमन्ते नदीको सफाईमा कुनै पनि योगदान गरेको छैन । बरु अनावश्यक दवाव दिई अभियानलाई रोक्ने प्रयास गरेको छ ।’

संक्रियाता सोचलाई अन्त्य गर्दै जस्तोसुकै चुनौति आए पनि भक्तपुरको विकास नरोकिने बताउँदै उहाँले करिडोर तथा ढल निर्माण कार्य तिव्र गतिका साथ अघि बढ्ने जानकारी गराउनुभयो । उहाँले हरियाली युक्त भक्तपुर बनाउने कार्य शुरुवात भइसकेको बताउँदै हरेक व्यक्तिको जन्मोत्सवमा एउटा विरुवा रोप्ने अभियानको रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

भक्तपुरमा विरोधी तत्वहरुको विकासलाई हेर्ने दृष्टिकोण नै नकरात्मक भएको बताउँदै उहाँले भन्नुभयो, ‘विरोधि सोचका साथ सस्तो लोकप्रियता कमाउन नखोजौं । भक्तपुरको विकास कुनै पनि असारे विकास भएको छैन, कुनै समस्या भएका छन् भने त्यो सिमाङकनका कारण भएको छ । जसको स्याल हुईया गर्नुको कुनै औचित्य छैन ।’

साँगामा भक्तपुर प्रवेश गर्ने गाडीले धोएर मात्र प्रवेश गर्ने वाध्यकारी नियम लागु गर्नुपर्ने बताउँदै उहाँले अरनिको राजमार्ग उज्योलो बनाउने मात्र नभई सुरक्षित तथा सवारी साधनको पोलुसन मापन गर्ने कार्य समेत गर्नु पर्नेमा जोड दिनुभयो ।

आगामी २०७८ सालसम्ममा सूर्यविनायक नगरपालिकाका १० वटै वडाहरुमा पूर्ण सरसफाई घोषणा गरिसक्ने र २०८० सम्ममा नगरपालिकालाई नै पूर्ण सरसफाई भएको घोषणा गर्ने लक्ष्यका साथ योजना सार्वजनिक गरिएको कार्यक्रममा प्रदेश नं. ३ का सांसद शशी जंग थापा, रजनी जोन्छे, भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, उपप्रमुख जुनादेवी बस्नेत, युवा कृयाकलाप समाज भक्तपुरका अध्यक्ष राधेश्याम दुवाल, युएन ह्याविटेडका भक्तपुर प्रमुख पार्वती दंगाललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।