सर्वोच्च वारकाे ३ दिवसीय कार्यक्रम सम्पन्न – Himalayan Dainik

सर्वोच्च वारकाे ३ दिवसीय कार्यक्रम सम्पन्न


सर्वोच्च वारकाे ३ दिवसीय कार्यक्रम सम्पन्न

काठमाडौं,साउन २८- सर्वोच्च अदालत वार एशोसिएशनद्धारा जाइका नेपालको सहयोगमा राजधानीमा आयोजित तीन दिने प्रशिक्षणात्मक राष्ट्रिय गोष्ठी समापन समारोहलाई सम्बोधन गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले राज्यले आम नागरिकका सहजताका लागि निर्माण गरेका कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।

सर्वोच्च वारकाे ३ दिवसीय कार्यक्रमकाे समापन समारोहलाई सम्वाेधन गर्दै उहांले लोकतान्त्रिक राज्य व्यवस्थाको महत्वपूर्ण आधारस्तम्भको रूपमा रहेको स्वतन्त्र न्यायपालिकाद्वारा कानूनको कार्यान्वयनको लागि पुर्‍याउने महत्वपूर्ण योगदानले “सम्वृद्ध नेपाल, सुखी नेपाली” काे सरकारको अवधारणालाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयाे ।

कानूनको सहि प्रयोग तथा उचित कार्यान्वयनका लागि न्याय प्रणालीसम्वद्ध सबै निकाय एवं व्यक्तित्वको आपसी सहकार्य एवं सकारात्मक कृयाशिलता अपरिहार्य रहन्छ भन्नुहुंदै त्यस प्रणालीसँंग सम्वद्ध निकाय तथा व्यक्तित्वको सवलता, सक्षमता एवं सकारात्मक जागरूकताले यस क्षेत्रमा भइरहेका परिवर्तन, विकासलाई आत्मसात गर्न सक्ने विचार व्यक्त गर्नुभयो । त्यसका लागि यस्ता सम्मेलन, गोष्ठीले महत्वपूर्ण सहयोग पुग्ने पनि बताउनुभयो । सर्वाेच्च अदालत वारकाे यस्ता हरेक कार्यक्रममा मन्त्रालय सकारात्मक रहेकाे र आवश्यक सहयाेग गर्न आफु उत्सुक रहेकाे बताउनुभयो ।

उहाँले हालै जारी भएका संहिता कानूनको एउटा महत्वपूर्ण पाटो नीजिअन्तर्राष्ट्रिय, करार र दुष्कृति सम्वन्धी कानूूनका बारेमा मित्रराष्ट्र जापान तथा नेपाली कानून विज्ञहरूले एक–आपसमा साटेको अनुभवले यस क्षेत्रमा भएका अभ्यासबारे स्पष्ट हुने अवसर जुरेको छ भन्नुभयो । साथै व्यापार र लगानीको क्षेत्रमा आएको व्यापकता र विश्वव्यापीकरणलाई निजी अन्तर्राष्ट्र्रिय कानूनबारे भएको छलफल लाभदायक हुने पनि बताउनुुभयो ।

आइतवार सर्वोच्च अदालतका प्रधान न्यायधिस चोलेन्द्र समशेर जवराले उद्घाटन गर्नुभएको सो गोष्ठीमा नीजि अन्तर्राष्ट्रिय कानून, दुुस्कृती तथा करार कानूनको सम्वन्धमा नेपाल र जापानका कानून क्षेत्रमा क्रियासिल व्यक्तित्वहरूबीच छलफल भएको थियो ।उक्त कानूनहरूको अन्तर्राष्ट्रिय स्तरमा भएका अभ्यास विशेष गरी जापानमा भईरहेको प्रयोगका बारेमा पनि व्यापक छलफल भएकाे बताइएको छ ।

सर्वोच्च अदालत बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता राजु खड्काले कार्यक्रमको समिक्षा प्रस्तुत गर्दै विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्दै कार्यक्रममा सहभागी भएका न्यायकर्मीहरू, कानूनका प्राध्यापक एवं विभिन्न न्यायालयमा अभ्यास गरिरहनुभएका वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरू, सरकारी वकिलहरू, विभिन्न प्रदेशका मुख्य न्यायाधिवक्ताहरू, कानून मन्त्रालयका अधिकृतहरू, सुरक्षा निकायका अधिकृतहरू र जापानका कानून विषयमा प्राध्यापन गरिरहनुभएका विज्ञको प्रस्तुतीसहितको सहभागीताले गोष्ठी सफल भएको बताउनुभयो ।

कार्यक्रममा वार एसोसियसनका महासचिव लिलामणी पौडेलले गत आर्थिक वर्षमा मुलुकी ऐनलगायत धेरै पुराना ऐन नियमलाई प्रतिस्थापन गर्दै नयाँ कानून ल्याएको र उक्त नयाँ कानून कार्यान्वयनको एक वर्षको अनुभव र जापानमा त्यसबारे हुँदै आएको प्रयोगबारे अनुभव आदान–प्रदान गर्ने अवसर गोष्ठीले जुराएको बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै सर्वोच्च अदालत वार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारीले प्रस्तुत गोष्ठीले सम्वन्धित कानूनको प्रयोगमा देखिएका असहजता र अस्पष्टता मेटाउन सहयोग प’ग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा आफ्नाे मन्तव्य राख्दै जाइका नेपालका आवासिय प्रतिनिधि आसाकुमाले प्रशिक्षणमुलक गाेष्ठी आफुले साेचेभन्दा सफल भएकाेले सर्वाेच्च वारसंगकाे जाइकाकाे सहकार्य आगामी दिनमा बढ्दैजाने विश्वास व्यक्त गर्नुभयाे ।

उक्त गोष्ठीमा पहिलो दिन वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, जापानका प्राध्यापक मोरिनागा र अधिवक्ता आशिष अधिकारीले आफुसम्वद्ध विषयवस्तुमा प्रस्तुती दिनुभएको थियो भने दोस्रो दिन सर्वोच्च अदालतका न्यायाधिश अनिल कुमार सिन्हा, अर्का जापानी प्राध्यापक किहारा, वरिष्ठ अधिवक्ता डा.नारायण घिमिरेको प्रस्तुती रहेको थियो भने तेस्रो दिन अधिवक्ता सरोज कुमार घिमिरे, जापानी प्राध्यापक किहारा तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यद्वारा आ–आफनो प्रस्तुतीसहित छलफल गरिएको थियाे ।