काठमाडौं,साउन २८-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले एक विज्ञप्ति जारी गर्दै आफूहरु विरुद्ध गरिएको प्रचारको खण्डन गरेको छ। मंगलबार प्रमूख स्वकीय सचिव जोखबहादुर महराले एक विज्ञप्ति जारी गर्दै भ्रामक प्रचारको खण्डन गरेका हुन्।
विज्ञप्तिमा महराले अध्यक्ष प्रचण्डका दिवंगत पुत्र प्रकाश दाहालको नाममा दुबईमा २१ अरब सम्पत्ति रहेको भन्ने प्रचारको निन्दा गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने उनीहरुको कुप्रचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ।’
एक साता प्रचण्ड सपरिवार दुबई गएको विषयलाई लिएर केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रचण्ड दुबईमा सम्पत्ति व्यवस्थापन गर्न गएको प्रचार गरिएको थियो। पछिल्लो समय पूर्वराजाका समर्थक र नेकपाविरोधी शक्तिहरु प्रचण्डविरुद्ध आक्रमक रुपमा लागिरहेका छन्। राजनीतिक उद्देश्य प्राप्तिका लागि व्यक्तिगत आक्षेप लगाउने राजनीतिक रोग यसपटक प्रचण्डको मामिलामा पनि देखिएको छ।
नेपालमा राजतन्त्रको पूनर्स्थापना हुनै नसक्ने प्रचण्ड भनाइका बीच उनका विरुद्ध भ्रामक प्रचार पनि त्यत्तिकै रुपमा गरिएको छ। प्रचण्डको सचिवालयले प्रकाश दाहालको बैंक खाता र सम्पत्ति प्रमाणित गर्न पनि चुनौति दिएको छ। यस्तो छ विज्ञप्तिको पूर्णपाठ।
आदरणीय जनसमुदाय,
यतिबेला जनक्रान्तिका उपलब्धी विरुद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुश्प्रयास भइरहेको छ। क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारमा लागेका छन्।
यसकै पछिल्लो कडीको रुपमा अध्यक्ष कमरेड प्रचण्डको दुबई भ्रमणको बिषयलाई लिएर केही कुत्सित मनसाय भएका व्यक्तिहरु उहाँको बदनाम गर्न उद्दत छन्। दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने उनीहरुको कुप्रचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ। यस प्रकारको दुरासयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरुको षडयन्त्रपूर्ण भ्रामक प्रचार मात्र हो।
कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौं। परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं। यस प्रकारका षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौं ।
२८ साउन २०७६
जोखबहादुर महरा ‘प्रताप’
प्रमुख स्वकीय सचिव
अध्यक्ष प्रचण्डको निजी सचिवालय