काठमाडौं,साउन २७-उपप्रधान तथा मन्त्री ईश्वर पोखरेलले जीवनोपयोगी शिक्षा दिएर युवालाई मुलुकको विकासमा लगाउनुपर्ने बताउनु भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा तथा खेलकूद मन्त्रालय र राष्ट्रिय युवा परिषद्ले आज काठमाडौ.मा आयोजना गरेको ‘राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा उद्यमशीलता सम्मेलन’ मा उपप्रधानमन्त्री पोखरेलले युवालाई व्यावहारिक शिक्षा दिनुपर्नेमा जोड दिनुभएको हो ।
‘अहिलेसम्म जीवन उपयोगी शिक्षा नभएकै कारण पढेर पनि युवाहरु बेरोजगार भएका छन, अब प्राविधिक तथा व्यावसायिक जस्ता जीवनोपयोगी शिक्षातर्फ जोड दिनुपर्छ,’ पोखरेलले भन्नुभयो । रक्षामन्त्री पोखरेलले उत्पादन, श्रम र रोजगारसँग जोडिएको शिक्षा अहिलेको आवश्यकता रहेको उल्लेख गदै सरकार त्यस्तो खालका शिक्षा दिन केन्द्रित रहेको छ भन्नुभयो । उहाँले बाध्यताले विदेश जानुपर्ने स्थितिलाई बदल्नुपर्ने बताउनुभयो ।