तनहुँ,साउन २०- भूूूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले तनहुँको सुक्लागण्डकी नगरपालिकाका स्थानीयलाई दशैभित्र लालपूर्जा दिनेगरी काम गर्न प्रमुख जिल्ला अधिकारीलगायत सबै कर्मचारीलाई आग्रह गर्नुभएको छ । तनुहँको सुक्लागण्डकी ७ शान्तिनगरमा आयोजित अव्यवस्थित बसोबासलाई लालपूर्जा दिलाउन आयोजीत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले मन्त्री परिषद्को निर्णयले स्थानीयको लालपूर्जा दिलाउने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई दिइएको भन्दै दशैभित्र जनताको हातमा लालपूर्जा थमाउनेगरी काम गर्न निर्देशन दिनुभएको हो ।
त्यसअनुसार दशैंभित्र लालपुर्जा दिनेगरी काम गर्न मन्त्री अर्यालले कर्मचारीलाई आग्रह गर्नुभएको हो । ‘राजनीतिक व्यक्तिलाई दिँदा विवाद होला, समस्या पर्दा र काम रोकिएला भनेर स्थानीयको लालपूर्जा दिलाउने जिम्मा प्रमुख जिल्ला अधिकारी लगायतका मातहतका कर्मचारीलाई दिएको हो’, मन्त्री अर्यालले भन्नुभयो, ‘मन्त्री परिषद्को निर्णय त मान्नुपर्यो नि १ पाल्पाको रामपुर र यहाँको छिट्टै काम सकेर लालपूर्जा बाड्ने योजना छ । प्रमख जिल्ला अधिकारीलगायत सबै कर्मचारीले त्यसतर्फ ध्यान दिनुपर्यो ।’
उहाँले छिटो काम गर्न र काममा खुट्टा नकमाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल सरकारले यो काम गर भनेपछि कार्यान्वयन गर्नु किन ढिलाई गरिरहनुभएको छ। यस पटकको दशै यहाँका जनताले हालमा लालपूर्जा बोकेर खुशी साथ मनाउन पाउन, सबै कर्मचारीलाई निर्देशन र जनप्रतिनिधिलाई मेरो अनुरोध छ ।’
बिचौलियादेखि भने सतर्क रहन उहाँले स्थानीयलाई आग्रह गर्नुभयो । ‘अहिले जे क्षेत्रमा पनि बिचौलियाको बिगबिगी छ । जग्गा जमिनमा झन नहुने कुरै भएन, त्यस्ता समुहबाट तपाईंहरु सतर्क रहनुहोला’, मन्त्री अर्यालले भन्नुभयो ।
नगरपालिकामा बसोबास गर्ने १ हजारभन्दा बढी घरधुरीका स्थानीयले आफूले जोतभोग गर्दै आएको जग्गालाई लालपूर्जा दिनुपर्ने माग गर्दै आएका छन् । कृषि क्षेत्रमा लाग्न स्थानीयलाई मन्त्री अर्यालको आग्रह
यसैबीच कार्यक्रममा मन्त्री अर्यालले जनताको जीवनस्तर बदल्नेगरी वर्तमान सरकारले विशेष किसिमको कार्यक्रम ल्याएको भन्दै स्थानीयलाई कृषि क्षेत्रमा लाग्न आग्रह पनि गर्नुभयो । ‘हामी अहिले नयाँ ढंगले काम गर्ने ठाउँमा छौं । हामीले जमिनको वर्गीकरण गरेर काम गर्ने योजना पनि बनाएका छौं’, उहाँले भन्नुभयो ‘अब निर्वाहमुखी कृषि प्रणालीबाट जीवन बदल्न सकिँदैन । जमिनको अधिकतम प्रयोग नगरी माथि जान सक्दैनौं ।’
मन्त्री अर्यालले वैज्ञानिक तरिकाले जमिनको उपयोग गर्नेगरी सरकारले कार्यक्रम ल्याएको र जुन क्षेत्र जे का लागि उपयुक्त छ, त्यसरी नै विकास गर्ने सरकारको योजना रहेको समेत बताउनुभयो । उहाँले युवाहरूलाई उचित सीप सिकेर व्यवसायी बन्ने प्रयत्न गर्न समेत आग्रह गर्नुभयो ।
हिजोका पुरानो कानुनलाई परिवर्तन नगरी नेपालीको इच्छा र चाहाना पूरा नहुने भन्दै मन्त्री अर्यालले हल्लाको पछाडि नलाग्न जनतालाई आग्रह समेत गर्नुभयो । ‘नेपाली समाज परिवर्तनको दौरानमा छ । हामी भर्खर समाजवादको दिशातर्फ प्रवेश गरेका छौं । अब अधिकारका लागि राजनीतिक लडाईं सकियो’, मन्त्री अर्यालले भन्नुभयो, ‘परिवर्तित नेपाली समाजको चाहानअनुसार हामीले पुरानो कानुनहरुलाई फेरेर नयाँ कानुन बनाउने हो । जनताको इच्छा र भावनामा ठेस पर्नेगरी सरकारले कुनै पनि काम गर्दैन ।’ संयम भएर हल्लाको पछाडि नलाग्न उहाँले आग्रह गर्नुभयो ।