अब जिम र स्विमिङपुलसहित मन्त्रीनिवास – Himalayan Dainik

अब जिम र स्विमिङपुलसहित मन्त्रीनिवास


अब जिम र स्विमिङपुलसहित मन्त्रीनिवास

काठमाडौं,साउन २ – सरकारले मन्त्रीहरूका लागि जिम, स्विमिङपुलदेखि हेलिप्याडसम्म भएको सुविधासम्पन्न आवास बनाउँदै छ । संसद् भवन निर्माणका लागि छुट्याइएको ललितपुर महानगरपालिकाको भैँसेपाटीस्थित सैंबु आवास क्षेत्रमा साढे दुई अर्ब लागतमा ९६ रोपनी १० आना जग्गामा ३३ भवन बनाउन लागेको हो । यही आवास क्षेत्रभित्र राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखको पनि निवास रहनेछ । दुई वर्ष्भित्र निर्माण सक्ने तयारी छ ।

गत १७ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री, राष्ट्रिय सभाका अध्यक्षसहित मन्त्रीहरूका लागि आवास निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सहरी विकास तथा भवन विभागले मन्त्रीका लागि २४, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र उपसभामुखका लागि एक–एक भवन निर्माण गर्न लागेको छ । त्यस्तै, आवास क्षेत्रमा हेलिप्याड, हेल्थ क्लब, ग्रोसरी, कम्युनिटी हल, व्यवस्थापन कार्यालय, स्विमिङपुल र पार्किङ पनि हुनेछ ।

प्रत्येक भवन साढे दुई तलाका हुनेछन् । प्रत्येक निवासमा प्रवेशका लागि दुई प्रवेशद्वार बन्नेछन् । एउटा सार्वजनिक र अर्को निजी प्रयोजनका लागि प्रयोगमा आउने सहरी विकास तथा भवन विभागका विशेष भवन निर्माण संयोजक प्रक्रिर्ण तुलाधरले बताए । भवनहरू नेपाली परम्परागत शैलीमा बनाइनेछ ।

  • आवासका लागि छुट्याइएको कुल क्षेत्रफलमध्ये करिब १२ रोपनी भवनले मात्रै ओगट्नेछन् । ३८ रोपनी ८ आना ग्रिन एरियाका लागि छुट्याइएको छ । २१ रोपनी जमिन आवासभित्रको आन्तरिक सडकले ओगट्नेछ । ११ रोपनीमा हेल्थ क्लब बन्नेछ । कम्युनिटी हलका लागि सातआना छुट्याइएको छ । व्यवस्थापन कार्यालयका लागि तीनआना छुट्याइएको छ । त्यस्तै, साढे दुई रोपनीमा ग्रोसरी स्टोर बन्नेछ । बाँकी रहेको जग्गामा एक सय सवारीसाधन अटाउने पार्किङ बनाइनेछ ।