१७ वर्षीया नेपालकी चेलीले जितिन् ‘मिस टीन भारत’को उपाधि – Himalayan Dainik

१७ वर्षीया नेपालकी चेलीले जितिन् ‘मिस टीन भारत’को उपाधि


१७ वर्षीया नेपालकी चेलीले जितिन् ‘मिस टीन भारत’को उपाधि

भद्रपुर,असार २६ – भारतीय सौन्दर्य प्रतियोगितामा नेपाली चेली निकिता थापामगरले ‘मिस टीन भारत’ को उपाधि जितेकी छिन् । झापा मेचीनगर नगरपालिका-५ नकलबन्दाकी १७ वर्षीया थापाले प्रतियोगितामा भारतका ३० प्रान्तबाट सहभागी बनेका सबैलाई उछिनेर विजेता बनेकी हुन् ।

यही असार २० गते शुक्रबार भारतको राजधानी दिल्लीमा आयोजना भएको ‘मिस टीन भारत’ विजेता थापा निशा थापा र पदम थापामगरको दुई छोरीमध्ये जेठी सन्तान हुन् । उनले काँकरभिट्टा क्याम्पसमा कक्षा १२ को भर्खरै परीक्षा दिएकी छिन् । भारतीय सौन्दर्य प्रतियोगितामा नेपालकी चेलीले प्राप्त गरेको यो ठूलो सफलता हो ।

तर, यस विषयमा भारतीय मिडियामा खुबै चर्चा भए पनि नेपाली मिडियामा भने चर्चा हुन बाँकी नै रहेको नेपाल मगर सङ्घ मेचीनगरका अध्यक्ष विकास थापामगरले बताउनुभयो । निकिताले ‘मिस टीन भारत’को उपाधिसँगै एक लाख भारु नगद पुरस्कार जितेकी छन् भने उनलाई अमन गान्धी फिल्म प्रोडक्सन प्रालिले चार म्युजिक भिडियो र एउटा सर्ट मूभिमा अभिनयको सम्झौता गरिसकेको निकिताले बताइन् ।