टोखामा जाल्पा कृषि फार्म सञ्चालनमा – Himalayan Dainik

टोखामा जाल्पा कृषि फार्म सञ्चालनमा


टोखामा जाल्पा कृषि फार्म सञ्चालनमा

काठमाडौँ,असार २५ – टोखा सूर्यदर्शनहाईटको माइक्रो स्टेसनसँगै हाइटविनाको इट्टाको भूइतले घर छ । गेटभित्र पस्नेवित्तिकै गेटैदेखि फलफूल लटरम्म फलेका हरियालीबीचको त्यस घरमा जाल्पा कृषि फार्म सञ्चालनमा छ । त्यहाँ पुग्ने वित्तिकै पुदिनाको स्वाद घुलेको फिका चियाले तपाईको स्वागत हुन्छ ।

इट्टाले बनेको दुईकोठे घरमा मेहनती जोडी कुमार कट्वाल र व्याचलर अध्ययनरत बालकुमारी कट्वालको सानो प्यारो छोरासहितको संसार छ । तीन वर्षदेखि अनुसन्धान गरी फलाएको अंगुरको बोटमुनि आगन्तुक तथा परिवारको सदस्य बस्ने र छलफल गर्न आरामदायी बाँसका सोफा, मुढाको व्यवस्था छ । लटरम्म फलेको अंगुर, त्यसकै वरिपरी फलिरहेका स्टेवेरी, बारीमा फलेका उसिनेका मकै, काँक्रा टिपेर फार्म अवलोकनका लागि आएका सबैलाई स्वागत गरेर यि जोडी कहिल्यै थाक्दैनन् ।
विगत १२ वर्षदेखि नेपाललाई हरियाली बनाऔं, त्यो पनि उद्योग नै चलाउन मिल्ने बोट विरूवा रोपेर भन्ने लक्ष्यका साथ कुमार कट्वालले दस रोपनी जग्गामा विभिन्न फलफुलका विरूवाको अनुसन्धानका साथै तरकारी फलाईरहनुभएको छ त्यहाँ । फार्ममा पानी लगाउनका लागि थोपा सिंचाईको आधुनिक प्रविधीयुक्त व्यवस्था छ ।

प्रकृति संरक्षण समाजको स्थापना गरी बोटविरूवाको अनुसन्धान गरिरहनुभएका कट्वालले कागती र रूद्राक्षको विरूवा रोप्ने अभियानमा लाग्नुभएको छ ।
वन जङ्गल मासिदैछन् । खेतीयोग्य भुमि बाँझो रहने क्रम बढिरहेको बेला उहाँले हरेक नेपालीले हरियालीका लागि दिनको एक रूपियाँ बचत गरौं भन्ने अभियान पनि सुरू गर्नुभएको छ । समुहको सदस्य तीनसय पैंसठ्ठी रूपियाँमा बनेर पाँच लाख घरमा कागतीको विरूवा पहिले रोप्ने काम सुरू भएको छ । प्रकृति संरक्षण समाजले प्रदुषण विरूद्धको सचेतना अभियानसँगै रूफ टप गार्डेनको अवधारणालाई देशव्यापी बनाउने योजना पनि बनाएको छ ।

वि.स. २०६४ मा स्थापना भएको सो समाजले सुरूवातको चरणमा हाल कागती र रूद्राक्षका विरूवा उत्पादन गरी वितरण गर्न थालेको छ । समाजका अध्यक्ष कट्वालले वृक्षारोपणसँगै रोजगारी सृजना गर्न सक्ने विरूवा रोप्नुपर्नेमा जोड दिनुहुन्छ । जुस, सौन्दर्य सामग्री बनाउन मिल्ने, फल खान, बेच्न मिल्ने बोटविरूवा रोपेर हरियालीका साथै रोजगार पनि बन्न सक्नेतर्फ ध्यान दिएर वृक्षारोपणको कामलाई व्यापक बनाउनुपर्ने उहाँको धारणा छ । हाल समाजले नर्सरीमा स्ट्रबेरी, कागती, रूद्राक्ष, बोजो, बाँस,पिपल, लालीगुराँस, रक्तचन्दन,स्न्याप, अँगुरलगायतका दुईसय ६५ वटा जातका बोट–विरूवाको अनुसन्धान गरिरहेको छ । त्यहाँको विरूवा रोप्न चाहेमा प्राविधिक सहयोग समेत प्रदान गर्ने समाजको लक्ष्य छ ।

टोखा नगरपालिका सुर्यदर्शन हाईट, मण्डिखाटार, गंगबुमा नर्सरीको स्थापना गरी काम गरिरहेका खड्काले आमा समुह, विभिन्न सामाजिक विकास, सुधारको उद्दे्श्यले स्थापना भएका सङ्घ संस्थामार्फत पहिलो चरणमा पाँच लाख घरधुरीलाई एक घर एक कागतीको विरूवा प्रदान गर्ने योजना बनाउनुभएको छ । गमलामा रोपेर डेढ वर्षमा फल्ने कागतीको विरूवा समाजले धमाधम वितरण गरिरहेको छ । कागती हरेक घरको आवश्यकता हो । कौसीहरू खाली राख्नुभन्दा केही फुल, अँगुर र भान्सामा आवश्यक धनिया, तरकारी उत्पादन गरी स्वस्थ्य तरकारी खान सके हाल तरकारीमा प्रयोग भईरहेका विषादीले स्वास्थ्य खराव हुने तरकारी किन्दा जाने पैसाको पनि बचत हुने दोहोरो फाइदा उठाउन नेपालीले ढिला गर्नुहुृन्न । अध्यक्ष खड्काले भान्छामा विषादिरहित तरकारी पकाउन आफैंले थोरै जाँगर चलाउन उपयुक्त हुन्छ र भान्छाबाटै निस्केका कुहिने फोहरको मल बनाउँदा राम्रो प्राङ्गारिक मल पनि घरमै तयार गर्न सकिने बताउनुहुन्छ । उहाँकी धर्मपत्नी बालकुमारी उच्च शिक्षा अध्ययनको साथै श्रीमानको लक्ष्यमा विनाकुनै गुनासो निरन्तर सहयात्री बनिरहनुभएको छ ।

कृषि कर्ममा फुर्सद कमै भएपनि ताजा खाना र खुवाउन सकिने पेशामा आफु र आफ्नो परिवार पूर्ण सन्तुष्ट रहेको बताउनुहुन्छ । ताजा हावा, सधैं हरियाली देख्न पाउने, पाहुना आउँदा पनि बारीकै सबै ताजा भर्खरै टिपेर धोइपखाली खुवाउन पाउने कुषि कर्म दुनियाँको राम्रो पेशामध्ये एक हो भन्नुहुन्छ । हाल टोखाको फार्ममा अँगुर, स्ट्रवेरी, फर्सीको मुन्टा लहराईरहेको छ । समाजका अध्यक्ष खड्काको हरेकको घरमा हरियालीका साथै समृद्धि पनि हो । जुन बोटविरूवा रोप्ने र त्यसको स्यहारबाट मात्र सम्भव हुन्छ । वनजङ्गल विविध कारणले सकिदै गएको अवस्थामा अब हरेक नेपालीले कौसी र घरवरपरका खाली जमिन सदुपयोग गरी ताजा खाने र प्रदुषणमुक्त समाजको परिकल्पनालाई साकार पार्न सबै नेपाली जागौं भन्नुहुन्छ । सबैको भलो हुने यस कर्ममा हामी आफ्नो तर्फबाट योगदान दिन तत्पर बनौं ।