काठमाडौं,असार १८-नेपालमा क्यान्सर रोग विशेषज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।नेप्लिज सोसाइटी अफ मेडिकल अंकोलोजीको आयोजनामा यही शुक्रबार काठमाडौंमा हुन लागेको सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्यान्सर रोग विशेषज्ञहरू सहभागी रहनेछन्।
सम्मेलनको पहिलो दिन क्यान्सर रोगको विषयमा समाजमा रहेका भ्रम, क्यान्सर रोगको पहिचान, नेपालमा भइरहेको उपचार विधिको विषयमा छलफल हुने आयोजकले जनाएको छ ।
दोस्रो दिन क्यान्सरको इमिनोथेरापी विधिबाट हुने उपचार पद्धतिबारे जानकारी गराइने छ। विदेशी विशेषज्ञले क्यान्सर रोगको उपचारका विषयमा जानकारी दिनेछन् भने नेपाली विशेषज्ञले पनि नेपालमा भइरहेको उपचारका विषयमा छलफल गर्नेछन्।
सम्मेलनमा नेपालसहित भारत र बंगलादेशका क्यान्सर रोग विशेषज्ञहरुको सहभागी रहने बताइएको छ। क्यान्सर रोग विशेषज्ञ र नर्सहरू सहित २०० भन्दा बढीको सहभागिता रहनेछ।