सांस्कृतिक गुरुयोजना निर्माण र कार्यान्वयनमा संचारकर्मीको भूमिका महत्वपुर्ण – Himalayan Dainik

सांस्कृतिक गुरुयोजना निर्माण र कार्यान्वयनमा संचारकर्मीको भूमिका महत्वपुर्ण


सांस्कृतिक गुरुयोजना निर्माण र कार्यान्वयनमा संचारकर्मीको भूमिका महत्वपुर्ण

भक्तपुर, १३ असार – मध्यपुरथिमि नगरपालिकाको सांस्कृतिक गुरुयोजना निर्माण र कार्यान्वयनमा संचारकर्मीको भूमिका महत्वपुर्ण रहेको बताईएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले बिहीबार आयोजना गरेको एक कार्यक्रमका सरोकारवालले यस्तो बताएका हुन् ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले सांस्कृतिक सम्पदाको खोज, अनुसन्धान र संरक्षणका लागि गुरुयोजना निर्माण गरिरहेको बताउनुभयो ।गुरुयोजनामा नगर क्षेत्रभित्र रहेका भाषा, हस्तलिपि, भेषभुषा, गीत/संगीत, बाजागाजा, नृत्य तथा झाँकी, रितिरिवाज तथा परम्परा, गरगहना लगायतको खोजी भैरहेको उहाँले बताउनुभयो ।

परम्परागत खानपान, पेशा, बस्ती र सम्पदा, धारा, इनार, पाटी, पौवा लगायत सांस्कृतिक सम्पदाको पहिचान गरी संरक्षणका योजना समेटिने मेयर श्रेष्ठले बताउनुभयो । ‘नगर क्षेत्रको सांस्कृतिक अवस्था के छ ? भन्ने तथ्य र तथ्यांक संकलन गरीरहेको र त्यसपछि तिनको संरक्षणका काम सुरु हुन्छन्,’ उहाँले भन्नुभयो । यसमा संचारकर्मीको महत्वपुर्ण भूमिका हुने भएकैले यो कार्यक्रमको आयोजना गरिएको बताउँदै संचारकर्र्मीबाट महत्वपुर्ण सुझाब आएकाले तिनलाई गुरुयोजनामा समेटिने उहाँको भनाई थियो ।

मध्यपुरथिमि नगरपालिकाभित्र रहेका मूर्त तथा अमूर्त कला, संस्कृति, सम्पदादेखि सम्पूर्ण विषयको खोज, अनुसन्धान, संरक्षण र विकास गर्नेगरी गुरुयोजना निर्माण भइरहेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।गुरुयोजना निर्माण सम्पन्न भएसँगै त्यसलाई कार्यान्वयनमा लैजान्छौँ, मध्यपुरथिमिभित्र जीवित सङ्ग्रहालयसमेत निर्माण शुरु भएको छ, मध्यपुरथिमिलाई नमूना साँस्कृतिक नगरी बनाउछौ उहाँले भन्नुभयो।छिट्टै नगरमहोत्सव गर्ने तैयारी भैरहेको उहाँले जानकारी दिनुभयो ।

गत चैत्र ३ गते प्रदेश तीनका प्रमुख अनुराधा कोइरालाले ‘सांस्कृतिक नगरी मध्यपुरथिमि’ घोषणा गरे यता प्रदेश सरकारको सहयोगमा नगरपालिकाले गुरुयोजना निर्माणको काम थालेको हो । नगरपालिकाले गुरुयोजना निर्माणकार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।गुरुयोजनामा नगरपालिकाभित्र रहेका विशेष व्यक्तित्व एवं गुरुको समेत योगदानको कदर गर्ने र उनीहरुको जीवनी तयार पार्ने, उनीहरुको कला एवं शिक्षालाई संरक्षण गर्ने योजना समेत नगरपालिकासँग रहेको छ ।