कोरोना उपचार केन्द्रबाटै भागे कैदी – Himalayan Dainik

कोरोना उपचार केन्द्रबाटै भागे कैदी


कोरोना उपचार केन्द्रबाटै भागे कैदी

काठमाडौँ – कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारका लागि भर्ना भएका कैदी भागेका छन् । बुधबार राति विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास उपचार केन्द्रबाट फरार भएका हुन् ।

बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय भएका दास शौचालय जाने बहानामा राति १० बजेतिर फरार भएको उपचार केन्द्रले जनाएको छ ।

दासलाई लेनदेन मुद्दामा अदालतले २०७६ साल वैशाख २९ गते ६ महिना कैदको फैसला सुनाएको थियो । फैसलापछि उनी फरार थिए । लुकिछिपी बसेको अवस्थामा प्रहरीले साउन २० गते उनलाई पक्राउ गरेको थियो ।

कारागार चलानका लागि कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि साउन २० गते नै कोभिड-१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । बुधबार राति शौचालय जाने क्रममा हातको हतकडी खोलेपछि उनी फरार भएका थिए ।

 

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले फरार प्रतिवादीको खोजी भइरहेको बताए ।