‘भ्वाइस अफ नेपाल -४’को कोचमा हेरफेर, राजेशपायल र प्रविशाको प्रवेश – Himalayan Dainik

‘भ्वाइस अफ नेपाल -४’को कोचमा हेरफेर, राजेशपायल र प्रविशाको प्रवेश


‘भ्वाइस अफ नेपाल -४’को कोचमा हेरफेर, राजेशपायल र प्रविशाको प्रवेश

काठमाडौं – हिमालय टेलिभिजनको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको चौथो सिजनको कोचमा हेरफेर भएको छ । दुई नयाँ कोचको प्रवेश भएको छ भने दुई जनाले निरन्तरता पाएका छन् ।

राजेशपायल राई र प्रविशा अधिकारी नयाँ कोचको रुपमा चौथो सिजनमा जोडिएका छन् भने राजु लामा र प्रमोद खरेलले निरन्तरता पाएका छन् ।

तीन सिजनसम्म कोच रहेका वरिष्ठ गायक दीप श्रेष्ठले यो सिजनमा विश्राम लिएका छन् । गायिका प्रविशाले द भ्वाइस किड्समा कोचको रुपमा काम गरिसकेकी छन् भने राजेशपायल राई द भ्वाइस अफ नेपाल सिजन ३ का केही एपिसोडमा गेस्ट कोच बनेका थिए ।

चौथो सिजनको औपचारिक घोषणा बिहीबार हुँदैछ । डिजिटल अडिसनमा सहभागी भएका ४१ हजार आवेदकमध्येबाट छानिएका १२० प्रतिभा ब्लाइन्ड अडिसनको तयारीमा जुटेको जनाइएको छ ।

यसपटक पनि विदेशमा बसोबास गर्ने नेपालीभाषीले सहभागिता जनाएका छन् । भारत, थाइल्यान्ड, बर्मा, अष्ट्रेलिया र अमेरिकामा बसोबास गरिरहेका नेपालीभाषी प्रतिभाले पनि अडिसनमा भाग लिएको जनाइएको छ ।

ब्लाइन्ड अडिसनमा प्रस्तुति दिनेमध्ये ६४ जना प्रतिभाले ब्याटल राउन्डमा प्रतिस्पर्धाको मौका पाउने निर्देशक लक्ष्मण पौडेलले बताए ।